नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिब निलम्बित

दीपक बोहरा
दाङ, २७ असार । नेपाल संस्कृत विश्वविद्यालयको कुलसचिब माधव अधिकारीलाई निलम्बित गरिएको छ । उक्त जिम्मेवारी उपकुलपति प्रा.डा. यादप्रसाद लामिछानेले लिएका छन् । कुलसचिब अधिकारीलाई यस अघि पाँच बुँदे स्पस्टीकरण सोधिएको भएपनि चित्तबुझ्दो जवाफ नआएको भन्दै कुलसचिब अधिकारीलाई निलम्बित गरिएको स्रोतले बताएको छ ।

आर्थिक अनियमितता गरेको कारण देखाउँदै १४ असारमा उपकुलपति लामिछानेले स्पस्टीकरण सोधेका थिए । त्यसमा चित्तबुझ्दो जवाफ नआएको भन्दै निलम्बन गरिएको हो । कुलसचिब अधिकारी एमाले महासचिब शंकर पोख्रेल निकट हुन् । उनको असोज ९ गते पदावधी सकिन लागेको हो ।

उपकुलपतिको कार्यकाल ४ बर्षको हुन्छ । कुलसचिब विश्वविद्यालयको कार्यकारी परिषद सदस्य हुने ब्यबस्था छ । कार्यकारी परिषद सदस्य नै निलम्बन हुँदा काम कारवाहीमा समस्या पर्ने भएकोले भीसी आफैले यो जिम्मेवारी लिएका हुन् ।


स्रोतका अनुसार कुलसचिबले विश्वविद्यालयको आर्थिक अपचलन गरेको आरोप छ । त्यति मात्रै नभई विश्विद्यालयको गोप्य सूचना लिँग गरेको, विश्वविद्यालयका बिभिन्न पदाधिकारी नियुक्तीका विषयलाई अदालतमा रिट दायर गरेको प्रमाण फेला परेको भन्दै निलम्बन गरिएको हो ।

त्यस्तै आफूखुसी विदा लिएर बसेको,शिक्षाध्यक्षमाथि भौतिक आक्रमण लगायतका विषयमा स्पस्टीकरण सोधिएकोमा त्यसका विषयका चित्तबुझ्दो जवाफ नआएको भन्दै निलम्बन गरिएको स्रोतको भनाई छ । यस विषयमा बुझ्न खोज्दा खुलसचिब अधिकारी सम्पर्कमा आउन चाहेनन् ।