मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह

काठमाडौँ , २६ असार । मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ ।

आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले आज रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले आज मनसुन विशेष मौसम बुलेटिन प्रकाशितगरी सतर्कताका लागि अनुरोध गरेको हो ।

आज रातिदेखि असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।


त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ ।