तुलसीपुर खानेपानी : अध्यक्षले कार्यसमिति भंग गरे, सीडीओले कोषाध्यक्ष र लेखापाललाई जिम्मेवारी दिए

 दाङ, १५ असोज ।

गएको भदौमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज ओलीले पत्रकार सम्मेलन गरि अध्यक्षबाट राजीनामा दिए र कार्यसमिति नै भंग भएको घोषणा गरे । त्यसपछि अन्य पदाधिकारी तथा सदस्यहरुले राजीनामाको कुनै जानकारी नआएको र कार्य समिति जिवितै रहेको भनि पत्रकार सम्मेलन गरि जानकारी दिए । त्यसपश्चात बन्द रहेको आर्थिक कारोबारोको जिम्मा जिल्ला प्रशासन कार्यालय दाङले समितिका कोषाध्यक्ष र लेखापाललाई दिएको छ ।

‘खानेपानीका धेरै कर्मचारीले भदौ देखि तलब पाउनु भएको छैन, दशै आईसकेको छ, त्यसैले कर्मचारीलाई तलब खुवाउनलागि मलाई र लेखापाललाई जिम्मा दिएको छ’,संस्थाका कोषाध्यक्ष सीताराम शर्माले भने ‘खानेपानीको महसुलबाट आएको रकमलाई हामीले हिसाबकिताब राख्ने गरि सीडीओले जिम्मेवारी प्रदान गर्नुभएको छ , त्यही अनुसार काम अघि बढाइरहेका छौं ।’


अहिले तुलसीपुर खानेपानी नेतृत्व विहीन अबस्थामा पुगेको छ । कार्यसमितिको कार्यकाल सकिएको करिब १८ महिना वितिसक्यो । संस्थाको विषयमा अदालत र अख्तियारसम्म पनि उजुरी परेपछि तोकिएको निर्वाचन पनि रोकिएको थियो ।

गएको बर्ष चैत २२ गते खानेपानीको निर्वाचन तोकिएको थियो । तर, खानेपानीका पूर्व कर्मचारी यमुना शाहले खानेपानी विरुद्ध रिट हालेपछि त्यो निर्वाचन रोक्न उच्च अदालत तुलसीपुरले आदेश दिएको थियो । त्यस्को टुंगो अझै लागेको छैन । नैतिकताका हिसाबले लामो समय आफू पदमा बसिरहन नसुहाउने भन्दै अध्यक्ष वलीले राजीनामा दिएपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सर्वदलिय बैठक बोलाएका थिए । त्यो बैठकले शाहले दिएको रिट निवेदन फिर्ता लिने र अहिले देखिएको समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो । तर, त्यसले अझै निकास पाउन सकेको अबस्था छैन ।