सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन

सल्यान, २५ असार । कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोट गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ। कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको बताइएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषि उपज बजार सञ्चालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका प्रमुख भीम पाण्डेले जानकारी दिए।


पाण्डेका अनुसार कार्यालयको ढुवानी साधनमा अनुदान कार्यक्रमअन्तर्गत १४ लाख तीन हजार सात सय ५० र समितिको सोहीबराबर रकम गरी २८ लाख सात हजार पाँच सय रुपैयाँमा खरिद गरी कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो। कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि क्षेत्रलाई व्यवस्थित गर्ने गरी गाउँमा विभिन्न कृषि कार्यक्रमसमेत सञ्चालन गर्दै आएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए। कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको सहज निकासीका लागि पालिकाले पनि दुईवटा सानो गाडी खरिद गरेको र ती साना गाडीलाई पनि कृषि एम्बुलेन्सका रूपमा प्रयोग गरिने उनको भनाइ छ।

कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले बजार सञ्चालक समिति र कपुरकोट गाउँपालिकाले कार्यविधि बनाएर यसलाई कार्यान्वयनमा ल्याउने बताए। उत्पादित वस्तु खरिदका लागि गाउँपालिकाले पनि पिकअप भ्यान खरिद गरिसकेका उनको भनाइ छ। बेमौसमी तरकारी उत्पादनलाई प्रख्यात मानिने कपुरकोटबाट वार्षिक २८ करोडभन्दा बढीको तरकारी निर्यात हुने गरेको छ। यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत तरकारी खेती नै हो।