बर्षादले प्रभावित दाङको जनजीवन सामान्य बन्यो

दाङ, २३ असार । बर्षादले गर्दा कष्टकर बनेको दाङको जनजीवन सामान्य बनेको छ । शुक्रबार दिनभर दाङका जनजीवन कष्टकर बनेको थियो । तर, अहिले अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

उनका अनुसार दाङको राप्ती र बबई नदीमा पानीको बहाक पनि घटेको छ, भने विस्तापित परिवार पनि आफ्नै बैकल्पिक घरमा सरेका छन् । खहरे खोलाहरुमा पानीको बहाब घटेको छ ।

पूर्व–पश्चिम राजमार्गमा पनि समस्या छैन, राप्ती लोकमार्गको दाङ खण्डमा पनि आवतजावत सहज छ । यस अघि राप्ती लोकमार्गको तुलसीपुर १२ सितलपुरमा बबई नदी पस्दा आवतजावतमा समस्या थियो । केही ग्रामिण सडकहरु अबरुद्ध भएकाले सूचारु गर्ने कार्य भने भइरहेको छ ।


जिल्लामा शुक्रबार बाढीमा परि तीन जनाको मृत्यु भएको छ । राप्ती नदीमा बगेर बेपत्ता भएका लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी, राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादव र गढवा गाउँपालिका ५ गंगदीका राजकुमार यादवको मृत्यु भएको छ ।

त्यस्तै शुक्रबार दंगीशरणस्थित बैंबाङ–बाँकी जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । वडा नम्बर ४ को बैंबाङ र वडा नम्बर १ को बाँकी जुर्पन्ने जोड्ने बबई नदिमा अवस्थित झोलगे पुल बाढीले बगाएको हो ।