बर्षाले तोड्यो दाङका नाकाबासीको सम्बन्ध

सागर रोका
देउखुरी, २१ असार ।
राजपुर गाउँपालिका वडा नं.७ स्थित नाका क्षेत्र प्रवेश गर्ने सडक बर्षादले गर्दा अबरुद्ध भएको छ । अहिले भारतसंग जोडिएको नाका क्षेत्रका अधिकांश सडकको अबस्था त्यस्तै छ । जसले गर्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । नाकाबासीले बर्षौदेखि यस्तो समस्या भोग्दै आएका छन् । अहिले भारतको बजारमा जान होस्, वा लमही आउन पनि त्यहाँका नागरिकलाई सकस छ ।
बर्षेनी सडक मर्मत हुने गरेको भएपनि त्यो दिगो हुन सकेको छैन । बीचबीचमा ह्युम पाइप, नाला नहुँदा यस्तो समस्या हुने गरेको छ । विरामी परेमा उपचारकालागि लैजाने अबस्था पनि रहने गरेको छैन । पटक–पटक चुनाबमा आस्वासन पाएपनि त्यो कुरा पूरा हुन नसकेको स्थानीय पुर्ण रोकाले बताए ।
त्यहाँ टेलिफोनले पनि राम्रो काम गर्दैन । एउटा टावर भएपनि त्यसले राम्रोसंग काम नगर्ने उनको भनाई छ । त्यहाँ नागरिक अझै पनि भारतीय सीम प्रयोग गर्न बाध्य छन् । यातायात मात्रै होईन्, त्यहाँ स्वस्थ्य, शिक्षा, विद्युत, खानेपानी सेवा सुबिधा प्रयाप्त नभएको स्थानीय लिला बिकले बताए ।

यो समस्या समाधानकालागि स्थानीय मात्रै नभई प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने राजपुर गाउँपालिका अध्यक्ष शरद बुदाथोकीले बताए । बर्षा कम भएसंगै अबरुद्ध सडकहरुलाई खुलाउने समेत उनले बताए । सुनपथरी नाका,भैसाही नाका,सिमगजमरी नाका,भौवा नाका,मनौरा नाका,खिर्की नाका,सुगैया नाकालगाएत अन्य नाकामा समेत अहिले ग्रामीण सडक अवरुद्ध छ ।