सेवार खोलामा डाइभर्सन नबन्दा सवारी सञ्चालनमा समस्या

तुलसीपुर, २० असार । दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा डाइभर्सन निर्माण नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । पुल निर्माणका क्रममा सेवार खोलाको पिच सडक भत्काइए पनि डाइभर्सन नबनाउँदा बर्षादको समयमा सवारी सञ्चालनमा समस्या देखिएको हो ।

पुल निर्माणका क्रममा कालोपत्रे सडक भत्काए पनि खोलामा हुन सक्ने जोखिमलाई ध्यान नदिदा अहिले सवारी सञ्चालनमा समस्या भएको स्थानीय सुन्दर चौधरीको भनाइ छ । बर्षाद सुरु भएसँगै खोलामा आएको भेलले उक्त क्षेत्रमा माटो बगाएर खाडल बनाउँदा साना सवारी साधन चिप्लेर दुर्घटना हुने जोखिम बढाएको बताउनुभयो ।

साना सवारी साधन स्कुटर, मोटरसाइकल, अटो, कार लगायतका सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ । पुल निर्माणका क्रममा बर्षादको समयमा खोलामा बग्ने पानीको निकासका लागि डाइभर्सन निर्माण भएमा जोखिम कम हुने भन्दै चौधरीले भन्नुभयो, ‘डाइभर्सन नहुँदा अहिले सेवार खोलामा ठुला खाडल हुन पुगेको छ । खोला बढेको बेला साना सवारी साधन बगेर खाडलमा खस्ने जोखिम बढेको छ ।’


तीन वर्षभित्रमा पुल निर्माणको काम सक्ने गरी काम सुरु भए पनि निर्माण कम्पनीले यो बर्ष एउटा पिलर बनाएको छ । पिलर बनाउँदा खोलामा बाटो बिग्रिएर खाडल बन्दा अहिले सवारीसाधनहरु खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

आगामी २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०८० साल वैशाख ३० गते रायमाझी निर्माण सेवा प्रालि काठमाडौँले पुल निर्माणको ठेक्का पाएको छ । चार लेनमा ७० मिटर लम्बाइ र २०।५ मिटर चौडाइको पुल निर्माण हुन थालेको पुल सेक्टर कार्यालय नेपालगञ्जले जनाएको छ । गोरखापत्र