तुलसीपुर ४ का गाउँ–गाउँमा क्षयरोगका विरामी खोज्ने अभियान सुरु

तुलसीपुर, २० असार । नेपाललाई क्षयरोग मुक्त बनाउने अभियान अन्तर्गत गाउँ–गाउँमा क्षयरोगका विरामी खोजी अभियान थालिएको छ । यो कार्यक्रम यस बर्ष दाङका दुई वटा पालिकामा चलेको छ ।

तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा क्षयरोग मुक्त अभियान चलेको छ । सोही अनुसार गाउँ–गाउँमा गएर क्षयरोगका विरामी पहिचान गरि उपचार थालिएको तुलसीपुर ४ स्थित हलवार स्वास्थ्य चौकी प्रमुख शिवप्रसाद तिवारीले बताए । “ अहिले पनि धेरै क्षयरोगका विरामीको पहिचान हुन सकेको छैन”, उनले भने “त्यसकालागि गाउँ–गाउँमा अभियान लिएर विरामीको खोजी गर्न थालिएको छ ।” क्षयरोगका विरामीको पहिचान नहुँदा रोग सार्ने क्रम झनै बढिरहेको भन्दै यो अभियान थालिएको हो ।

गाउँ–गाउँमा गएर खकार परीक्षण गर्ने, गाउँ–गाउँमा गएर यो रोग बारे जनचेतना अभिबृद्धि गराउनेजस्ता कार्यक्रमहरुको कार्ययोजना बनाएर सुरु गरेको उनको भनाई छ ।

जनचेतना कार्यक्रमकालागि आमा समूह, समुदाय, विद्यालय शिक्षा, होर्डिङ बोर्ड निर्माण गर्ने, भित्ते लेखन तथा माइकिङ गर्ने कार्य हुने प्रमुख तिवारीको भनाई छ । अहिलेसम्म तुलसीपुर ४ मा ७ जना क्षयरोगीले उपचार गराईरहेका छन् । ति मध्ये तीन जनाको फोक्सोमा र ४ जनाको फोक्सो भन्दा बाहिर संक्रमण देखिएको जनस्वास्थ्य निरीक्षक विवेक जिएमले बताए ।

तुलसीपुर ४ लाई सबै भन्दा पहिले क्षयरोग मुक्त वडा निर्माणकालागि आफूहरु लागिरहेको वडाध्यक्ष तुलसी थापाले बताए । मंगलबार र बुधबार गरि दुई दिन वडामा भएको क्षयरोग मुक्त नेपाल अभियान वडा स्तरीय समिति गठन तथा सुक्ष्म योजना तर्जुमा कार्यक्रममा उनले यस्तो बताए । क्षयरोगका विरामीहरु नखुल्ने भएकाले पनि समस्या हुने गरेको भन्दै त्यसलाई सामान्यीकरण गरेर खुल्ने वातावरण तयार गर्नुपर्ने समेत वडाध्यक्ष थापाको भनाई छ ।

समाजमा अन्धविश्वासले गर्दा पनि खुल्न नमान्ने अबस्था रहेको भन्दै त्यसलाई अन्त्य गर्न सक्नु पर्ने उनले बताए । कार्यक्रममा तुलसीपुर ४ का महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा, शिक्षा क्षेत्रका अगुवालगायतको सहभागिता रहेको थियो ।


तुलसीपुरमा चालु बर्षमा दुई सय ६५ क्षयरोगी छन् । ति मध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सो भन्दा बाहिर रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फोकल पर्सन विमल केसीले बताए ।

उनका अनुसार चालु बर्षमा क्षयरोगबाट तुलसीपुरमा ८ जनाको मृत्यु भएको छ । सबै क्षयरोगीहरु सम्पर्कमा नआउने भएकाले पनि उनीहरुको खोजी गर्ने गरि अभियान सञ्चालन हुने उनको भनाई छ । “धेरै क्षयरोगीहरु स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा एथेष्ट जानकारी आउने गरको छैन”,उनले भने“जसले गर्दा क्षयरोगीका विरामीहरुले अरुलाई पनि सारिरहेका हुनसक्छन्, त्यसैले अहिले सबै वडामा यस्तो कार्यक्रम चलिरहेको छ ।” उनका अनुसार आँकडा अनुसार तुलसीपुरमा चारसय ३८ को हाराहारीमा विरामी पहिचान हुनुपर्ने भएपनि त्यसो छैन ।

तुलसीपुरमा सबै भन्दा बढि ६५ बर्ष माथिका ब्यक्तीमा क्षयरोगको समस्या देखिएको छ । चुरोट, गुट्का, जाँड, रक्सी खाने ब्यक्तीहरुमा बढि यो समस्या देखिने गरेको केसीले बताए दाङमा १ हजार चार सय ५३ जना क्षयरोगका विरामी भेटिएका छन्, भने लुम्बिनी प्रदेशमा ८ हजार ८५ विरामी छन् ।

दाङमा क्षयरोग परीक्षणकालागि दुई वटा आधुनिक मेसिन रहेका छन् । एउटा मेसिन घोराही र एउटा लमही रहेका छ । त्यस्तै माईक्रोस्कपी २० वटा, डीओटिएस ५० वटा रहेका छन् । गएको आर्थिक बर्षमा २५ स्थानीय तहमा यो कार्यक्रम चलेको थियो ।