जनताका समस्या र विकासको मोडेल मिल्यो ?

नागरिकमा विकासको तिब्र आकांक्षा छ । त्यसैले पनि सरकारप्रति जनता निकै आक्रोसित हुन्छन् । राजनीति दलहरुप्रति पनि उतिकै आक्रोसित हुन्छन् । मुलुक संघीयतामा गएपछि घर नजिकमा सरकार छन् । नजिकका सरकारले जनतालाई सहजता भएको छ, जनताका समस्या समाधानको मार्गमा गइरहेका छन् । प्रशासनीक कार्यहरु पनि गाउँ टोलबाटै समाधान हुने गरेका छन् । यसरी हेर्दा संघीयताले नागरिकलाई निकै सहज बनाएको छ । तर, संघीय संरचना अनुसार आएका घर आँगणका सरकार सञ्चालन गर्ने व्यक्तीहरु भने बढि महत्वकांक्षी हुँदा तल्लो तहका जनताको समस्या माथि भने चासो नदिएको जस्तो आभास हुने गरेको छ ।जनताका आबश्यकता एकातिर हुन्छन्, तर जनप्रतिनिधिका गतिबिधि अर्कै बाटो हिडिरहेका हुन्छन् । हाम्रो नजिकको सरकार तुलसीपुर उपमहमानगरपालिकामा त्यस्तै देखिएको छ ।

सरकारले जनताका आधारभूत समस्यालाई बढि ध्यान दिनु पर्छ । विकास गर्नुपर्छ, तर, तत्कालको आबश्यकता के हो, त्यसलाई बढि ध्यान दिनुपर्छ ।अहिलेको जनताको माग पनि त्यही हो । जनताले तत्काल परिणाम खोजिरहेका छन् । जनप्रतिनिधि भनेको जनताको आबश्यकता अनुसार काम गर्ने ब्यक्ती हो । जो जनताको काम गर्छ । तर, तुलसीपुरमा बढि महत्वकांक्षी योजनाहरु अघि सारिएका छन् । जनताका समस्या भन्दा पनि आफूलाई ईच्छा लागेका काम बढि हुनेगरेका छन् । तुलसीपुरबासीले खानेपानी सहज पाइरहेका छैनन्, तर ‘ट्रेड’ टावर बनाउने योजना अघि सारिएको छ । सडकका खाल्डाखुल्डीले दुर्घटना बढाईरहेको छ, तर, छिल्लीकोटको लेक, जो आफै भ्यूटावरको काम गरिरहेका छन्, त्यहाँ लाखौं/करोडौं खर्चेर भ्यूटावर निर्माण गरिएको छ । नजिकै प्रादेशिक अस्पताल छ, तर सामान्य दुर्घटना हुँदा नेपालगञ्ज रेफर गरिन्छ, डम्पिङ साईडको उचित व्यबस्थापन छैन्, तर, टरिगाउँ एयरपोर्टलाई अन्तराष्ट्रिय स्तरको ‘पाईलट कलास्’ सञ्चालन गर्ने थलो बनाउने योजना छ । यो भनेको जनताको भावनासंग एकाकार गर्न नसक्नु नै हो । आफ्नो क्षेत्र भित्र कुन तहका नागरिकको बाहुल्यता छ, त्यसमा पनि ध्यान दिनुपर्छ ।


महत्वकांक्षी योजनाहरु निर्माण गर्ने विषयमा कुनै असहमति भने होईन्, तर, जनताका तत्कालका माग सम्बोधन गर्न तर्फ भन्दापनि आफू अनुकुल काम गर्ने प्रबृति हावी रहेकाले सुधार हुनुपर्छ, भन्ने नै हो । नेता भनेको जनताको भावना,माग अनुसार चल्ने हुनुपर्छ । यसमा सबै नेतृत्वले ध्यान दिन आबश्यक छ ।