राप्ती गापा जिल्लामै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

तुल बहादुर कवँर मगर
भालुवाङ, ८ असार ।
दाङको राप्ती गाउँपालिकालाई शनिबार एक कार्यक्रमका बीच जिल्लामै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सबै मापदण्ड पुरा गरेपछि गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

दाङको १० स्थानीय तह मध्ये राप्ती गाउँपालिका यस वर्ष जिल्ला कै पहिलो पालिकाको रूपमा पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।

गाउँपालिकाको ९ वटै वडामा गरिएको सर्वेक्षणमा ०-१५ महिना सम्मका ७ सय ३६, १६-५९ महिनाका २ हजार २ सय ३८ जना बालबालिका रहेका छन् ।

जस मध्ये २ हजार २ सय ३१ जना बालबालिकाले पुर्ण खोप लिइसकेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिनुभयो ।

यस वर्ष २ जना बालबालिकाले भने कुनै पनि प्रकारको खोप नलिएको र ५ जना बालबालिकाले केही मात्र खोप लगाएको सर्वेक्षणका क्रममा फेला परेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिनुभयो ।

साथै स्वास्थ्य शाखा प्रमुख राउतले नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्धन कक्षा राप्ती गाउँपालिकाबाट हरेक महिना १५ वटा खोप क्लिनिकबाट ० देखि १५ महिनाका बालबालिकाहरूलाई १३ किसिमका खोप सेवा दिदै आएको बताउनुभयाे ।


त्यस्तै उहाँले सिसहनियाँ स्वास्थ्य चाैकीबाट हरेक मंगलबार खोप सेवा दिने गरिएको र हरेक खोप कक्षामा उपस्थित बालबालिकाको अभिभावकहरूलाई सरसफाई प्रवर्धन सम्बन्धी कक्षा समेत सञ्चालन गर्दै आएको बताउनुभयाे।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै शर्माले राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा जिल्लामै ३ वर्ष लगातार प्रथम स्थान हासिल गरेकोमा बधाई तथा धन्यवाद दिदै खोप आफैमा महत्त्वपूर्ण भएकोले कोही पनि बालबालिका खोप लिन नछुटुन भन्नका लागि अझ मेहनतका साथ काम गर्नु पर्ने बताउनुभयो ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खोप लिनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताउँदै स्वास्थ्य क्षेत्रका कर्मचारी र स्वास्थ्य स्वमसेविकाहरूको मेहनत र लगनशीलताले पुर्ण खोप तथा दिगोपना घोषणा गर्न सफल भएको बताउनुभयो।

सो अवसरमा १ वटा प्रस्तावित अस्पताल, १ वटा स्वास्थ्य चौकी र ७ का स्वास्थ्य इकाईलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, वाटर एड नेपालका गुणस्तर अनुगमन अधिकृत मनोज नेपाल, राप्ती गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अनमी निरिक्षक भारती सन्यासी,प्रस्तावित भालुवाङ अस्पतालका प्रमुख कृष्ण श्रेष्ठ, जनस्वास्थ्य निरिक्षक पोषणराज शर्मा, पत्रकार ओमप्रकाश गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गर्नुभएकाे थियो ।