सिकेकाे सीपलाई सदुपयोग गर्न उपकरण बाेकेर घर-घरमा जानुस् : अध्यक्ष विष्ट

देउखुरी, ८ असार ।
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सिकेकाे सीपलाई सदुपयोग गर्न उपकरण बाेकेर घर-घरमा जान एक तालिमका सहभागीहरुलाई सुझाव दिनुभएको छ।

घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा सञ्चालित दुई महिने (३५० घण्टे सिप परिक्षण समेत) ईलेक्ट्रीक अप्लाइन्स् मर्मत तालिमकाे शुक्रबार समापन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सहभागीहरुलाई सीप सिकेर मात्रै कुनै उपलब्धि नहुने भन्दै त्यसको सदुपयोग गर्न उपकरण बाेकेर घरघरमा जान सुझाव दिनुभएको हाे। 

लुम्बिनी प्रदेशको राजधानी भए सँगै यस क्षेत्रमा बिस्तारै शहरीकरण बढ्दै गरेको र पछिल्लो समय मानिसहरुले घरघरमै सुविधा खाेज्ने हुनाले साे सीप सिकेकाहरुकाे माग बढी हुने अध्यक्ष विष्टको भनाइ रहेको थियो ।


विगतमा आफू पनि स्वास्थ्यकर्मी हुदा आला बाेकेर घर-घरमा बिरामीहरुकाे सेवा गर्न हिडेकाे अनुभव सुनाउदै अध्यक्ष विष्टले काम गर्न लाज मान्न नहुने बताउनुभयो ।

गाउँपालिकाकाे वडा नम्बर ८ पिपरीमा सञ्चालन भएको उक्त तालिममा २० जना युवाहरुकाे सहभागीता रहेको थियोे।

कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय दाङका निमित्त प्रमुख उद्योग अधिकृत सन्तोष कुमार सुवेदीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।