स्काउटले विकृतिका विरुद्ध अभियान चलाउनुपर्छ : नगर प्रमुख खड्का

तुलसीपुर, ५ असार ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले विकृतिका विरुद्ध अभियान चलाउन स्काउट ट्रुपलाई आग्रह गर्नुभएको छ ।

जनकल्याण मावि दुधरासमा स्काउट ट्रुपको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख खड्काले स्काउट ट्रुप हरेक प्रकारका विकृति विरुद्ध लड्नु पर्ने बताउनुभयो । स्कुले विद्यार्थी लागूऔषध दुव्र्यसनीमा फस्ने खतरा भएको औँल्याउँदै प्रमुख खड्काले लागूऔषध दुव्यसनीका विरुद्धमा सचेतना फैलाउनुपर्ने बताउनुभयो ।


‘स्कुले विद्यार्थी साथीहरुको लहलहैमा लागेर लागूऔषध दुव्र्यसनीमा फस्ने खतरा हुन्छ ।’ खड्काले भन्नुभयो ‘स्काउट ट्रुपले लागूऔषध दुव्यसनीका विरुद्धमा सचेतना फैलाउनुस् ।’ उहाँले देशप्रती कर्तव्यनिष्ठ भएर लाग्नु स्काउटको मुल धर्म भएको भन्दै सहकार्य र सहभावको बानी विस्तार गर्न आग्रह गर्नुभयो । यस विद्यालयमा आज ६४ जना विद्यार्थी दिक्षित भएका छन् ।

प्रधानाध्यापक हिमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १८ का वडा अध्यक्ष माधव वली, स्काउटका लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय रविन वली,निरन्जना पाण्डे,स्काउट प्रशिक्षक मोहन नेपाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुसारी लगाएतकाले बोल्नुभएको थियो ।