बाघमारे स्कुलमा विब्यस गठनमा विवाद

तुलसीपुर,४ चैत । दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित जनकल्यान मावि सिमसुन्दरपुरको विद्यालय ब्यबस्थापन समिति गठनमा विवाद सिर्जना भएको छ ।

शनिबार पनि सर्वसम्मत रुपमा विद्यालय ब्यबस्थापन समिति गठन हुन सकेन् । विब्यस गठनका सन्दर्भमा शनिबार अपरान्ह ४ बजेतिर मुठभेटको स्थिति पनि बनेको थियो । वडाध्यक्ष सुनिल वली र प्रधानाध्यापक निमबहादुर केसीबीच चर्काचर्की समेत परेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार त्यहाँ वडाध्यक्षले प्रअ माथि हातपातको प्रयास गरेका थिए । तर, वडाध्यक्ष वलीले भने सामान्य विवाद भएको प्रतिक्रिया दिए । विवादले उग्ररुप लिन खोजेपछि त्यहाँ प्रहरी पनि तैनाथ भएको थियो । इप्रका खिलतपुरबाट प्रहरी त्यहाँ पुगेको थियो । विवाद भएको कुरा जानकारी आएपछि आफूहरु घटनास्थल पुगेको खिलतपुर प्रहरीले प्रतिक्रिया दिएको छ ।


किन भयो विवाद ?
सोही विद्यालय ब्यबस्थापन गठन प्रक्रियामा त्यहाँका ६ राजनीतिक दल सामेल थिए । ति मध्ये एमाले बाहेक अन्य पाँच राजनीतिक दलले सहमतिमा विब्यस गठन गर्नुपर्ने गरि एकमत भएका थिए । तर, एमालेले निर्वाचन नै गर्नुपर्ने र त्यसकालागि मिति तय गर्नुपर्ने कुरा प्रधानाध्यापकलाई दवाव दिदै आएको थियो ।

त्यही दवाव वडाध्यक्षले प्रधानाध्यापकलाई दिएको एक प्रत्यक्षदर्शीले बताए । तर, प्रधानाध्यापकले निर्वाचन गर्नकालागि सबै दल एकमत भएर आउन भनेपछि विवाद सिर्जना भएको थियो ।

विवाद पछि भएको छलफलले चैत १३ गते निर्वाचन गर्ने घोषणा गरेको छ । त्यसमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति जनाएका छैनन् ।