राप्तीमा हस्तकला सम्बन्धी सीप विकास तालिम सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, ३२ जेठ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा १५ दिने हस्तकला सम्बन्धी सीप विकास तालिम शुक्रबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कमलापती चौधरीको विशिष्ट आतिथ्यतामा उक्त तालिम समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीयस्तरको सीप कलालाई देश विदेशसम्म पु¥याउन सिकेको सीपलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । पुरानो कला संस्कृति र परम्परालाई जोगाइ राख्न यस्ता सीपको विकासमा आफूहरु लागिपरेको अध्यक्ष विष्टको भनाइ थियो ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले हस्तकला सामाग्रीहरुको बजारको राम्रो सम्भावना भएको बताउदै तालिमले महिलाहरूलाई स्वरोजगार भई आयआर्जन गर्न थप सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै परम्परागत भन्दा पृथक शैलीबाट आकर्षक तवरले निर्माण गरिएका उत्पादनले विदेशी बजारमा समेत मूल्य पाउने उपाध्यक्ष चौधरीको भनाइ थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले गाउँपालिकाले उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई हस्तकला सम्बन्धी सीप सिकाई उद्यमशीलता तर्फ अग्रसर गराउने पालिकाको उदेश्य रहेको बताउनुभयो ।


प्रमुख प्रशासकीय अधिकृत ओलीले तालिमका सहभागीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा पालिकाले सहयोग गर्ने बताउदै सीप सिकेर सफल व्यवसायी,उद्यमी बन्नसके मात्र तालिमको उपलब्धि हुने बताउनुभयो ।

तालिमको प्रशिक्षार्थी राजकुमारी चौधरीले तालिम निकै उपयोगी भएको बताउदै आगामी दिनमा अझै सीप अभिबृद्धि गर्ने खालका कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो ।

राप्ती गाउँपालिकाको आयोजना तथा मल्टिसेक्टर इन्जिनियरिङ कन्सल्टेन्सी शान्तिनगर दाङको आयोजना सम्पन्न तालिमका सहभागीहरुलाई ढकीया, हटकेश, पेन होल्डर,गमला, पुजादनी, सुपारी बास्केट, पान ट्रे लगायतका विभिन्न हस्तकलाका सामाग्री बनाउन सिकाइको थियो ।

१४ जना महिलाहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा श्रीकुमारी चौधरी रहनु भएको थियो । तालिम समापन कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गर्नु भएको थियो ।