
दाङ, ६ बैशाख ।
पानी पार्ने प्रणाली पश्चिम नेपालका भूभागबाट पूर्वतिर सरिरहेको छ । यो प्रणालीको प्रभावले कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीसम्म पानी पार्ने सम्भावना छ । बागमतीको काठमाडौं उपत्यकामा आज बिहानैदेखि फाटफुट पानी परिरहेको छ ।
पछिल्लो समय दाङ देउखुरीको लालमटियामा सबैभन्दा धेरै पानी परेको छ । विभागका अनुसार लालमटियामा एक घण्टाको अवधिमा ४६ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी लमहीमा ३५.६ र बगासोतीमा २५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । हाँसीपुरमा १७.६ मिलिमिटर र कोइलाबासमा १३.८ मिलिमिटर पानी परेको छ । यसैगरी दाङको सदरमुकाम घोराही, रोल्पाको लिवाङ र प्युठानको स्वर्गद्वारीमा पनि पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । त्यसको प्रभावले मेघगर्जनरचट्याङसहित पानी पार्ने प्रणाली विकसित भएको छ । यो प्रणाली पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।
यस अघिसम्म सुदूरपश्चिमका डडेलधुरा, कञ्चनपुर, बैतडी लगायतका स्थानमा मेघगर्जनरचट्याङ्ग सहित पानी परेको थियो । सो प्रणाली पूर्वतिर सर्दै कर्णाली र हुँदै लम्बिनी आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीले गण्डकीसम्म पानी पार्ने सम्भावना छ ।
आज काठमाडौंमा पनि डम्म बादल लागेको छ । बिहानैदेखि फाटफुट पानी पनि परिरहेको छ ।



लाइभदाङ । ६ बैशाख २०८२, शनिबार ०८:०१ बजे