थारू नाचमा युवाको आकर्षण

दिपक बोहरा,
दाङ, २ माघ ।
तुलसीपुर १२ रझेनीका श्याम चौधरी थारू समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागि थिए । २५ बर्षीय चौधरीसहितका युवाहरू गाउँका हरेक कार्यक्रममा लुंगे नाच देखाउने तयारीमा छन् । माघीमा पनि युवाहरू नाच्ने उनीहरूको तयारी छ ।“हामी युवाहरूले नै अब थारू समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ”,उनले भने“यो बर्षदेखि हामी आफै सक्रिय भएका छौं ।” यो भन्दा पहिले सोही क्षेत्रमा युवाहरूले थारू नाच पनि नाच्दैनथे । परम्परागत रूपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिदै गएको अबस्था भएपछि यसलाई जोगाउन आफूहरू सक्रिय भएको उनको भनाई थियो  ।

त्यस्तै सोही ठाउँकी अस्मिता चौधरी पनि थारूको पोशाकमा सजिएकी थिइन । युवतीहरूले पनि आफ्नै समूह बनाएर नाच गर्न थालेका छन् ।“पहिले बुढापाकाले मात्रै नाच्थे”,उनले भनिन् “अब हामी पनि यो नाचमा सक्रिय हुन थालेका छौं ।” यो बर्षदेखि आफूहरू नाच संरक्षणमा लागेको उनको भनाई थियो । थारू समुदाय संस्कार र संस्कृतिमा धनी भएपनि त्यसलाई जोगाउन नसक्दा लोप हुँदै जान थालेको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको उनले बताइन् । उनीहरू उदाहरण मात्रै हुन् ।


पछिल्लो समय युवाहरू थारू संस्कार, संस्कृति संरक्षणमा सक्रिय देखिएका छन् । जिल्लाका सबै स्थानीय तहले माघीको अवसरमा विशेष कार्यक्रम गर्दै आएका छन् । दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । सबै जसो पालिका तथा वडाहरूमा माघी विशेष कार्यक्रम भइरहेको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । “हामीले पनि माघी विशेष कार्यक्रम ग¥यौं”,उनले भने “सबै जसो पालिका र वडाहरूले कार्यक्रम गर्ने गर्दछन्, यसले पनि युवाहरू थारू संस्कार, संस्कृति संरक्षणमा लाग्ने गरेका छन् ।” तुलसीपुरमा मात्रै १२७ वटा थारू समुदायका गाउँहरू छन् ।

थारू समुदायले झुम्रा, सखिया, लठ्ठहवा, मुङ्गहवा, हुर्दवा, मघौटा, बर्कालगायतका नाच नाच्ने गर्छन् । माघी नजिकिदै गर्दै गाउँ–गाउँमा माघी विशेष कार्यक्रम भइरहेका छन् । माघीको रौनक बढिरहेको छ । आफ्नो भेषभुषामा थारू समुदाय सजिरहेका हुन्छन् । थारू समुदायका परिकारहरू पनि पाकिरहेका छन् । साभार : अग्रिम साप्ताहिक