तुलसीपुरमा विद्यार्थी एक्कासी बेहोस

दाङ, ३० जेठ । दाङको तुलसीपुर ११ स्थित अमर मावि उरहरीका विद्यार्थीहरु एक्कासी बेहोस भएका छन् । कक्षा ८ मा पढ्ने पाँच जना र कक्षा ९ मा पढ्ने एक जना विद्यार्थी एक्कासी बेहोस भएका हुन् ।

गर्मीकै कारण उनीहरुमा स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले बताए । उनका अनुसार विरामीहरु बेहोस भएपछि विद्यालयमै पुगेर स्वास्थ्य जाँच गरिएको थियो । सबै विद्यार्थीमा गर्मीकै कारण यस्तो समस्या देखिएको उनले बताए । गर्मीमा खानपिनमा ध्यान नदिदा पनि यस्तो समस्या देखिएको हुुन सक्ने उहाँले बताए । “यस्तो समस्या देखिएपछि हामी विद्यालयमै गएर जाँच ग¥यौं, गर्मीकै कारण यस्तो भएको हो”,उनले भने “ हामीले औषधी पनि दिएका छौं, अहिले उनीहरु सामान्य छन् ।”


विद्यार्थीहरुमा बान्ता आउने, पिसाबमा समस्या हुने, टाउको दुख्ने समस्या देखिएको थियो । गर्मीको समयमा पानी धेरै खानेपर्ने, घाममा धेरै खेल्न नहुँने कुरालाई ध्यान दिनुपर्ने उनले बताए । बुधबार साढे १ बजेतिर विद्यार्थीहरु बेहोस भएको सोही विद्यालयका कर्मचारी बसन्त परियारले जानकारी दिए । दाङमा बुधबार ४०.२ डिग्रि सेल्सियस गर्मी छ ।