सीपले मानिसलाई हौसला दिन्छः नगर प्रमुख चौधरी

लमही, २५ जेठ ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सीपले मान्छेलाई हौसला दिने भएकोले लमही नगरपालिकाले प्रदान गरेको सीपलाई व्यवसायमा जोड्न महिलाहरुलाई आग्रह गर्नु भएको छ । ‘तपाईहरु हिम्मत गरेर व्यवसाय अगाडी बढाउनुस, स्थानीय सरकारले के–के गर्न पर्छ तयार छ ।’ उहाँले भन्नु भयो । ‘अचार बनाउदा गुणस्तरमा ख्याल गर्नु होला, बजारीकरणका लागि हामीले पनि पहल गरौंला, सीपलाई पेशा र व्यवसाय जोड्नुस मेरो शुभकामना छ नगर प्रमुख चौधरीले भन्नु भयो ।

त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले सीप सिकेर उद्यमी बन्न चाहाने महिलाहरुका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनु भयो । ‘केहि सीप सिकेर आर्थिक आय आर्जनमा जोडिन चाहानेहरुका लागि लमही नगरपालिकाले थुप्रै तालिमको आयोजना गरिरहेको छ, त्यस्ता अवसरलाई छोपेर सीप सिक्नुस, व्यवसायी बन्नुस तपाईहरुलाई कुनै समस्या भए स्थानीय सरकारको ध्यानकार्षण गराउनुस हामी तपाईहरुसंग सहकार्य गर्न तयार छौं ।’नगर उपप्रमुख योगीले भन्नु भयो ।

पाँच दिने अचार बनाउने तालिमको समापन
जनतासंग उपमेयर कार्यक्रम अन्तर्गत विनियोजन भएको बजेटबाट उद्यमी महिलाहरुको क्षमता विकासका लागि पाँच दिने अचार बनाउने तालिमको आयोजना गरिएको थियो । तालिमको बिहिवार समापन गरिएको छ । मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाहरुको क्षमता अभिवृद्धिका लागि पाँच दिने अचार बनाउने तालिम प्रदान गरिएको हो ।

तालिममा सहभागीहरुले सीपमुलक तालिम पाएर आफुहरु निकै उत्साहित भएको बताउनु भएको छ । आगामी दिनमा पुनर्ताजगीका लागि यस्ता तालिमको आयोजना गरिदिनु पर्ने सहभागीहरुको माग छ ।


सानो लगानीमा पनि गर्न सकिने भएकोले अचार बनाउने तालिम उपलब्धि मुलक भएको लमही नगरपालिका–४ अर्नावाकी ऋतु रावतले बताउनु भयो । ‘मेहनत गरेर यो सीपलाई व्यवसायिक रुपमै लाग्न सकिने रहेछ’ उहाँले भन्नु भयो । ऋतु जस्ता ३७ जना महिलाले यो अचार बनाउने तालिम लिनु भएको छ । सहभागीले लसुन÷ अदुवा, आँपको गुलियो अचार (मुरब्बा), खुर्सानी, मिक्स, करेला, मासु, कटहर र आँपको अचार बनाउने तालिम लिनु भएको छ ।

लमही नगरपालिकाको सहकारी शाखाको आयोजनामा यस तालिमको आयोजना गरिएको थियो । अचार कसरी बनाउने, अचार बनाउन के–के चाहिन्छ भन्ने कुरा तालिममा सिकाइएको छ । तालिमको प्रशिक्षकमा आशारामी चौधरी रहनु भएको थियो । तालिम अवधिभर सहभागीहरुले बनाएका विभिन्न प्रकारका अचारहरु प्रशिक्षक आशारामी चौधरी खरिद गरि लैजानु भएको छ ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको समापन तालिममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद शर्मा, वडा नम्बर ५ का वडा सदस्य केशवराज अधिकारी, पत्रकार लिला शाह लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सहकारी शाखा प्रमुख लक्ष्मी सुवेदीले गर्नु भएको थियो ।