कुपिण्डे तालमा डुबेर युवतीको मृत्यु

तुलसीपुर,१० जेठ । सल्यानको कुपिण्डे तालमा डुबेर एक युवतीको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका– ८ मार्के आराकी ३२ वर्षीया कमला कवरको बिहीबार बिहान कुपिण्डे तालमा डुबेर मृत्यु भएको हो।

कवर बिहीबार बिहानै बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका– ८ मा रहेको कुपिण्डेतालनजिकै रहेको बराह मन्दिरमा पूजा गर्न गएकी थिइन्।


तालमा डुबेकी कवरलाई आफन्त र स्थानीयले उद्धार गरेका थिए। उद्धारपछि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले बताए।

घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव जिल्ला अस्पताल सल्यानमै पोस्टमार्टमका लागि राखिएको प्रहरीको भनाइ छ।

तालनजिकै रहेको बराह मन्दिरमा पूजा गर्न गएकी कवर नुहाउने क्रममा देउता चढ्यो भन्दै गहिरो भागतिर गएपछि डुबेको स्थानीयले बताए।