गोली प्रहार गर्ने ‘प्रहरी’ एसएसपीको बडिगार्ड रहेको खुलासा

दीपक बोहरा
दाङ, ३ फागुन ।
दाङमा प्रहरी जवान माथि गोली प्रहार गर्ने श्रीमान पनि प्रहरी रहेको खुलेको छ । उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । प्रहरी सहायक हलवदार रहेका प्यूठान निवासी यमबहादुर झाँक्री तालिम केन्द्रको एसएसपीका बडिगार्ड रहेको खुलेको छ । बडिगार्ड भएकै कारण उनले पेस्तोल पाएका थिए । बडिगार्ड, भिआईपी सुरक्षा अफिसर बाहेक आसई भन्दा माथिको दर्जालाई मात्रै पेस्तोल दिने गरिन्छ । तर, उनी एसएसपीको बडिगार्ड भएकै कारण पेस्तोल पाएको स्रोतले बताएको छ ।

झाँक्रीले त्यही पेस्तोलले श्रीमति वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापा माथि गोली प्रहार गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार श्रीमति थापाले श्रीमान झाँक्री विरुद्ध जिल्ला अदालत दाङमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेकी थिइन ।


उनीहरुबीच लामो समयदेखि सम्बन्ध विग्रिएको थियो । त्यही कारण पनि यो घटना भएको हुन सक्ने प्रहरीको अनुगमन छ । उनीहरुको एउटा तीन बर्षकी छोरी छ । छोरी झाँक्रीसंगै बस्दै आएकी थिइन । झाँक्री चारदिन देखी विदा लिएर बसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए । उनी भैपरी विदा लिएर बसेका थिए ।

श्रीमति थापालाई विहीबार साँझ साढे ८ बजेतिर भे १२ प ११५० नम्बरको पल्सर ‘टु ट्वाईन्टी’ मोटरसाईकलमा आएर पेस्तोल प्रहार गरेका थिए । श्रीमति थापालाई तीन पेस्तोलको तीन राउन्ड गोली प्रहार पछि भाग्दै गरेका झाँक्रीलाई लमहीबाट पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।