सरकार विरुद्ध गलत सूचना जाँदा राष्ट्रलाई असर गरिरहेको छः सभामुख घर्ती

दाङ, ९ जेठ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी सञ्चार माध्यम प्रबिधिमैत्री बन्नुपर्ने बताएका छन् । रेडियो नेपालको आयोजनामा बुधबारदेखि सुरु भएको समावेशी प्रसार सामग्री उत्पादन तथा प्रशारण प्रबिधि तालिम एवं ब्यापार प्रबद्र्धन अन्तरक्रिया शुभारम्भ कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै सभामुख घर्तीले रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सन्चार माध्यम प्रबिधिमैत्री बन्नुपर्ने बताए । उनका अनुसार समय सान्दर्भिक र प्रबिधिमैत्री हुन नसक्दा सरकारी सञ्चार माध्यामहरु ओझेलमा पर्न सक्ने खतरा रहेको उनको भनाई छ ।

साथै उनले पछिल्लो २० बर्षमा सञ्चारले ठूलो फड्को मारेको समेत बताए । तर, अहिले सामाजिक सञ्जालमा आउने हरेक सूचनाले नागरिकलाई भ्रमित बनाएको उनको भनाई छ । यस्तो अबस्थामा रेडियो नेपाल, नेपाल टेलिभिजन, रासस,गोरखापत्र जस्ता सरकारी सञ्चार माध्यमको भूमिका बढेको भन्दै यी सञ्चार माध्यमलाई जनतासंग जोड्नु पर्ने सभामुख घर्तीको भनाई छ । “ अहिले सबै कुरा सामाजिक सञ्जालमा आउछ, टेलिभिजन हेरिदैन, रेडियो सुनिदैन”,उनले भने“अब घर–घरमा रेडियो सुन्ने र टेलिभिजन हेर्ने वातावरण मिलाउनुपर्छ ।”

सरकारी सञ्चार माध्यमको पहुँच जनतामा पु¥याउँदा सरकारका सही सूचना जनतामा जान्छन्, र त्यसले सरकारलाई सफल बनाउछ । अहिले सरकारका आधिकारिक सूचनाहरु जनताले थाहा नपाउँदा पनि जनता र सरकारबीचको खाडल पैदा हुने गरेको भन्दै सरकारी सञ्चार माध्यमले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।

साथै सूचनाको हक मात्रै नभई गोपनियताको पनि मौलिक हक भएकाले राज्यको गोप्य सूचनाहरुलाई पनि चुहावट गर्ने कार्य बन्द हुनुपर्ने बताए । मुलुकलाई नै असर गर्ने खाल्का सूचना चुहावट हुँदा पनि त्यसले असर गर्ने उनको भनाई थियो ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले सञ्चार माध्यम परिस्कृत भएर जानुपर्ने बताए । उनले रेडियो नेपाललाई सबै जनताको पहुँचमा पु¥याउनु पर्ने समेत बताए ।


कार्यक्रममा रेडियो नेपालका कार्यकारी प्रमुख बुद्धिबहादुर केसीले रेडियो नेपालको विगत र बर्तमान अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उनले बिभिन्न २२ वटा भाषामा रेडियो नेपालले समाचार संप्रेशन गरिरहेको समेत बताए । त्यस्तै २१ वटा भाषामा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै यसले नेपालका सबै नागरिकलाई समावेशी बनाएको बताए । अझै पनि यसलाई बृहत बनाएर लैैजाने उनको भनाई छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, नेपाली काँग्रेसका जिल्ला सहसचिव राजु आचार्य, एमाले दाङका सचिव श्याम डाँगी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्यलगायतले रेडियो नेपालले विगतमा सूचना र सञ्चारका क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । त्यसैले यसलाई जिवित राख्नु पर्ने समेत उनीहरुको धारणा थियो ।

रेडियो नेपालले समावेशी प्रसार सामग्री उत्पादन र प्रसारण प्रविधिका लागि तालिमको आयोजना गरिएको हो । कार्यक्रम जेठ ९ गते देखी सुरु भई जेठ १४ गते सम्पन्न हुनेछ ।