शिक्षामा सुधार भएमात्र नतिजा राम्रो आउँछ : प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
लमही, २ पुष ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । हामीले शिक्षामा केही फरकपन दिन सक्नु पर्छ भनेर लागेका छौं, त्यस कार्यमा शिक्षकहरुले पनि साथ दिनु पर्छ एक्लै संभव छैन, अनि मात्र राम्रो नतिजा आउने छ”- प्रमुख चौधरीले भन्नू भयो ।

आज सोमबार सामुदायिक विद्यालयको अनुगमन गर्न लमही नगरपालिका -९ मा रहेको बगारबाबा माध्यामिक विद्यालय रिहारमा पुग्नु भएका नगर प्रमुख चौधरीले शिक्षा क्षेत्रलाई बलियो बनाउनका लागि शिक्षकहरुमा सकारात्मक सोच हुन अनिवार्य छ”- उहाँले भन्नू भयो । नगरपालिकाले शिक्षामा लगानी गरेर नगरपालिकाको शिक्षा क्षेत्रलाई उत्कृष्ट बनाउने कुरामा आफू दृढ भएको बताउनु भयो ।


त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले विद्यालय सुधार गर्न राज्यले विद्यालयका मापदण्डलाई पूरा गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । पढाउ र विद्यार्थी पास गराउ भनेर मात्र हुँदैन, स्रोत साधनको पनि व्यवस्था गरे मात्र ती विद्यालयमा गुणस्तरीय पढाइ हुन्छ”- उपप्रमुख योगीले बताउनु भयो ।

सामाजिक विकास समितिका संयोजक तथा लमही नगरपालिका -६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा व्यवस्थापनको पाटो कमजोर रहेको भन्दै समाधान गरे तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । शिक्षा क्षेत्रको सुधारका लागि अब नगरपालिकाले आर्थिक रुपले लगानी गर्न पर्ने उहाँको भनाई छ । उहाँका अनुसार अब नगरपालिका भित्र रहेका सबै विद्यालयलाई निरन्तर अनुगमन गरिने र नियमन गर्ने चौधरीले बताउनु भयो ।

अनुगमनका क्रममा विद्यालयले भोग्दै आएका समस्याका बारेमा प्रधानाध्यापक यम बहादुर बस्नेतले प्रमुख र उपप्रमुखलाई जानकारी गराउनु भएको थियो ।