पछिल्लो समय सामुदायिक विद्यालयहरुप्रति विद्यार्थीहरुको आकर्षण बढिरहेको छ । खासगरि अंग्रेजी माध्याममा पठन–पाठन भइरहेका विद्यालयमा बढि आकर्षण बढिरहेको छ । अहिले राम्रा विद्यालयहरुमा एउटै कक्षामा ५० भन्दा बढि विद्यार्थीहरु भर्ना भइरहेका छन्, भने सामान्य विद्यालयमा पनि ५० देखि एकसयसम्म नयाँ विद्यार्थीहरु नयाँ भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीहरु सबै निजि विद्यालयबाट आएकाहरु छन् । यसले पनि सामुदायिक विद्यालयप्रति समाजले सकारात्मक तरिकाले हेरिरहेको छ, भन्ने प्रष्ट हुन्छ ।
पछिल्लो समय सबै तह र तप्काबाट सामुदायिक विद्यालय सुधार हुनुपर्छ, भन्ने अभियान सञ्चालन गरिरहेक छन्, केही सामुदायिक विद्यालयहरुले शिक्षकले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पठाउनु पर्ने अभियान चलाएका छन् भने केहीले त्यो अभियान सुरु गर्ने तयारी गरिरहेका छन् । विद्यालय मात्रै होइन्, जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरुले पनि यो अभियान चलाईरहेका छन् । यदि आफ्ना सन्तान पनि सामुदायिक विद्यालयमा पढ्न थालेमा त्यहाँको शिक्षाप्रति सबैको चासो हुने र शिक्षाको गुण्स्तर पनि बृद्धि हुने भन्दै यो अभियान चलिरहेको छ, त्यसले गर्दा पनि अहिले सामुदायिक विद्यालयमा विद्यार्थीहरु भर्ना हुने क्रम बढिरहेको हो ।
अहिले जुन हिसाबले सामुदायिक विद्यालय सुधार अभियान चलिरहेको छ, त्यही अनुसार भर्ना दर पनि बढिरहेको अबस्थामा विद्यालयको अबस्था भने सुधार गर्न तर्फ लाग्नु पर्छ । अहिले पनि सामुदायिक विद्यालयको सामान्य कुरामा पनि उचित ब्यबस्थापन हुन सकेको अबस्था छैन । सामुदायिक विद्यालयका ठूला–ठूला भवनहरु छन्। ति भवन भित्र अस्तब्यस्त छ । कक्षा कोठा सफा हुँदैनन्, हरेक वस्तु जहाँ पायो त्यही फालिएको हुन्छ । राष्ट्रिय झण्डा च्यातिएको अबस्थामा हुन्छ, भने कक्षा कोठामा शिक्षकहरु हुँदैनन् । नियमित पिरियड अनुसार पढाई हुँदैनन् । यस्ता कुराहरु सुधार गर्न तर्फ ध्यान दिनुपर्छ । यो कुरा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्वयं शिक्षक सामान्य कुरामा सुधार गरेमा ठूलै परिवर्तन आउन सक्ने अबस्था रहन्छ । तर, यस तर्फ अझै पनि गम्भीर ध्यानाकर्षण हुने गरेको छैन । सधै सरकारको मुख ताक्ने, सरकारलाई नै दोषारोपन गर्ने जस्ता प्रबृतिहरु हावी छन् । यस्ता कुराले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार हुन सक्दैन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ७ जेष्ठ २०८१, सोमबार ०८:२० बजे