साहित्यकार तथा संचारकर्मी आस्था केसीको जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक

दाङ, ६ जेठ ।
साहित्यकार तथा संचारकर्मी आस्था केसीको जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक भएको छ। शनिवार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पुस्तक सार्वजनिक गरेका हुन्।

१५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी आस्था केसीले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरु संकलन गरेर।पुस्तकाकारमा प्रकाशन गरेकी हुन्।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भुमिगत जीवन बिताइन्। सोही समयमा सहकर्मी योद्धाहरु, घरपरिवार र नेतागणहरुबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीहरुलाई पुस्तकमा समेटेकी छन्।


जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रंगीन अनुभूति, युद्धमोर्चाका आरोह अवरोह, कार्यक्षेत्रको अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठिन बाटोमा सहज बनायो र बाल्यकालका दौंतरी र घरका पत्र गरि १० भागमा केन्द्रीत गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने बताईएको छ।

पुस्तक बिमोचनमा बोल्दै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रम प्रचण्डले कालजयी कृतिका लागि आस्था केसीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए।कार्यक्रम कर्णाली प्रदेशले आयोजना गरेको थियो। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो। लेखक केसीको यस अगाडि उज्यालोको खोजी गजल संग्रह प्रकाशित छ।