लुम्बिनीमा मन्त्रालय फुटालेरै ७ मन्त्रीको कार्यविभाजन

देउखुरी, १२ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ७ जना बिनाविभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री महराले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ वटा बनाएका छन् ।

बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो ।

मन्त्रालय फुटालेर दुईवटा नयाँ बनाइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेकपा एसकी भगवती अधिकारीलाई दिइएको छ । मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मुख्यमन्त्री महराले आफैं राखेका छन् । एमालेबाट गुल्मी निर्वाचन क्षेत्र २ (२) का सांसद दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, कपिलवस्तु निर्वाचन ३ (१) का सांसद अर्जुनकुमार केसीलाई वन तथा वातावरण मन्त्रालय, रुपन्देही निर्वाचन क्षेत्र ५ (१) का सांसद भूमीश्वर ढकाललाई सहरी तथा खानेपानी मन्त्रालय र बाँके निर्वाचन क्षेत्र ३ (१) का सांसद रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका नेता बर्दिया निर्वाचन क्षेत्र २ (२) सांसद धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र नवलपरासीका निर्वाचन क्षेत्र २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेतलाई पर्यटन, उद्योग तथा सहरकारी मन्त्रालयको जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता दीपेन्द्रकुमार पुन मगरले बताए ।


चैत २५ गते नियुक्त भएका बिनाविभागीय मन्त्री एमालेबाट चेतनारायण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीबाट दीपेन्द्रकुमार पुन मगरलाई सरकारको प्रवक्ता तथा स्वास्थ्य मन्त्रालय र जसपका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी गत बिहीबार नै तोकिएको थियो ।

मुख्यमन्त्री नियुक्त हुनुअघि चैत २२ गतेको ७ बुँदे सहमतिलाई मुख्यमन्त्री महराले पालना नगरेको भन्दै मन्त्री अहिरले आइतबार पदबाट राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको थियो । ३ सांसद रहेको जसपालाई २ वटा मन्त्रालय दिने महरासहित लुम्बिनीका दलले लिखित सहमति गरेका थिए ।

अहिरले मन्त्री पदबाट राजीनामा दिएपछि ११ सदस्यीय मन्त्रीको नामावलीमा उनको नाम कृषिमन्त्रीमै रहेको छ । ‘पाटीको निर्देशनबमोजिम मैले मन्त्री पदबाट राजीनामा दिएको हुँ,’ उनले भने, ‘मन्त्रालय पाए पनि पदभार ग्रहण नगर्दै राजीनामा दिएको हुँ । मुख्यमन्त्री र पाटी केन्द्रबीच छलफल चलिरहेको छ, केही निष्कर्ष निस्केला भन्ने आशा छ ।’

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले मुख्यमन्त्रीले ७ बुँदे सहमति पालना नगरेसम्म जसपा सरकारमा नजाने दाबी गरे । ११ सदस्यीय मन्त्रिपरिषद्‍मा एमालेका ५, माओवादीका मुख्यमन्त्री सहित २, नाउपा, नेकपा एस र स्वतन्त्रलाई एकरएक मन्त्रालय पाएका छन् ।