दाङ, ६ चैत । बागलुङमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुमको मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, मुसिकोट–२ रातामाटाका सवारी धनी बिददेल नेपाली, मुसिकोट–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट–३ साँखकी कल्पना केसी, रोल्पाका गाडी चालक सुवास भनिने मानसिंह विक, गोर्खाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय पत्रकार विक्रम परियार रहेको प्रहरीले जनाएको छ । प्रेस सेन्टर नेपाल, रुकुम पुर्वको उपाध्यक्ष समेत रहेका पत्रकार परियार अन्नपुर्ण दैनिक पत्रिकाका जिल्ला समाचारदाताका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव गयराति नै रुकुम पठाइएको छ भने दुई जनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएकोमा त्यहाबाट पनि केहीलाई पोखरा रिफर गरिएको छ । यस्तै दुर्घटना परी रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मीको मदाने गाउँपालिका–१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिमको मुसिकोट–३ का ६५ वर्षीय हर्कबहादुर केसी, ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मीको मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, २२ वर्षीया सविना पुनमगर, ३८ वर्षीय हेमराज केसी घाइते भएका छन् ।
त्यसैगरी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँको टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार पूर्वीरुकुमबाट काठमाडौँतर्फ जादैगरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस गयराती बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
लाइभदाङ । ६ चैत्र २०८०, मंगलवार ११:११ बजे