बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान

तुलसीपुर, ३ जेठ ।
दाङमा बहु विवाह गरेका एक जना आरोपीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही १५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई वहु विवाहको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो । पौडेल मुद्धा दर्ता भएपछि भागेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले पौडेललाई फरार सुचिमा राखेर घटना वारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय घोराहीलाई फाइल बुझाएको थियो ।

आफै फरार रहेका पौडेल गएको वैशाख २५ गते अदालतमा हाजिर भएका थिए । जिल्ला न्यायधिश तारा शर्माको एकल इजलाशले थुनछेककाक्रममा मुद्धाको अन्तिम टुङ्गो नलाग्दा सम्म पौडेललाई तत्कालको प्रमाणको आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

पौडेल अदालतको आदेश अनुसार कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए । अदालतले आफ्नो जेठी पत्नी हुँदाहुँदै सम्वन्ध विच्छेद नगरेर विदेश जाने लोभमा कान्छि श्रीमतिसंग विवाह गरेर सम्वन्ध विच्छेद गरेको कागजलाई प्रमाणकोरुपमा लिएको छ । अदालतमा पिडित महीलालले आफुलाई कुटपिट गरेर खानलाउन नदिई घरवाट निकाला गरेको वयान दिएकी छिन् ।


यसअघि प्रहरी र सरकारी वकिललाई दवाव दिएर पौडेललाई वहु विवाहको आरोपवाट उन्मुक्ती दिने प्रयास गरीएको थियो । जिल्ला सरकारी वकिल कार्यालय दाङले पनि बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । यस वारेमा सञ्चारमाध्यममा समाचार प्रकाशीत भएपछि उच्च सरकार वकिल कार्यालयले जिल्ला सरकारीको निर्णय उल्ट्याउदै घटना अनुसन्धान गरेर मुद्धा दर्ता गर्न निर्देशन दिएको थियो ।

प्रहरीले वहु विवाहको आरोपी छोरालाई उपस्थित नगराएपछि पौडेलका वावु केशव पौडेललाई मुद्धा चलाउन खोजेको थियो । वावुलाई मुद्धा चलाउन इन्कार गरेपछि सरकारी वकिल कार्यालयका घोराहीका प्रमुखले छोरालाई फरार सुचिमा राखेर कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।