सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ

दाङ, २८ बैशाख ।
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर मजगैयासहित दुई जना सेवा निवृत्त कर्मचारीलाई विदाइ गरिएको छ । विश्वविद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विदाइ गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडा र कुलसचिव प्रा. माधव अधिकारीले अध्यक्ष मजगैयालाई विदाइ गर्नुभएको हो । उक्त अवसरमा सेवा निवृत्त स्टोर किपर रेशमबहादुर केसी, हेड असिस्टेन्ट टोपबहादुर जनैदारलाई पनि विदाइ गरिएको हो ।

विदाइ कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले लामो समयसम्म विश्वविद्यालयमा भएको तालाबन्दीका कारण सेवा आयोगले राम्रोसँग काम गर्न नपाएकोमा गुनासो गर्नुभयो । ‘लामो समयसम्म विश्वविद्यालयमा भएको तालाबन्दीका कारण दुई चरणको विज्ञापन गर्ने योजना सफल हुन सकेन । सोचाइअनुसारको काम गर्न पाएको भए विश्वविद्यालयमा अभाव जनशक्ति व्यवस्थापन गर्न सक्ने थियौं’, उपकुलपति लामिछानेले भन्नुभयो ।

विश्वविद्यालयको महत्वपूर्ण निकायका रुपमा रहेको सेवा आयोगको मर्यादा कायम गर्न सेवा आयोग सफल भएको बताउँदै उपकुलपति लामिछानेले भन्नुभयो, ‘सेवा आयोग विश्वविद्यालयको महत्वपूर्ण निकाय हो । विश्वविद्यालयको मर्यादा कायम राख्न सेवा आयोग सफल भएको छ’, उपकुलपति लामिछानेले भन्नुभयो ।


कार्यक्रममा बोल्दै सेवा आयोगका अध्यक्ष प्रा.श्रीधर मजगैयाले विश्वविद्यालयलाई आवश्यक जनशक्ति प्रदान गर्न सेवा आयोग सफल भएको बताउनुभयो । सेवा आयोगलाई निश्पक्ष र मर्यादित बनाउन सफल उहाँको दाबी थियो । ‘लामो समयदेखि शैक्षिक र प्रशासनीक जनशक्ति अभावमा रहेको विश्वविद्यालयलाई जनशक्ति उपलब्ध गराउन सेवा आयोग सफल भएको छ’, अध्यक्ष मजगैयाले भन्नुभयो, ‘हाम्रो कार्यकालमा हामीले सेवा आयोगलाई स्वच्छ, निश्पक्ष र मर्यादित बनाउन सफल भएका छौं । विदाइको यस क्षणमा विश्वविद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

सहलेखा नियन्त्रक विष्णुप्रसाद दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षाध्यक्ष भीमप्रसाद खतिवडा, विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. मुरलीमोहन बाँस्तोला, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.सुधनकुमार पौडेल, सहलेखा नियन्त्रक हरिबहादुर डिसी, सेवा निवृत्त कर्मचारी स्टोर किपर रेशमबहादुर केसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपप्रशासक खिमबहादुर केसीले गर्नुभएको थियो ।