आगलागी नियन्त्रणमा ध्यान दिऔं

पछिल्लो समय देशब्यापी आगलागीका घटनाहरु बढिरहेका छन् । दाङमा पनि आगलागीका घटनाहरु उत्तिकै छन् । आईतबार मात्रै आगलागी हुँदा राजपुर गाउँपालिका ७ हाडवासमा आगलागी हुँदा २४ घरगोठ जलेर नष्ट भए । सामुदायिक बनमा लागेको आगो गाउँमा पस्दा त्यहाँ क्षति भएको हो । दाङमा अहिले अधिकांस सामुदायिक बनमा आगलागी भएको छ । कुनै ठाउँमा जनधनको क्षति भएको छ, भने कुनै ठाउँमा बनजंगल नै सखाप हुने गरेको छ । सबै भन्दा बढि सामुदायिक बन भित्रका बस्तिमा त्रास हुने गरेको छ । बनमा लागेको आगो गाउँ बस्तिमा पस्ने चिन्ताले सताउने गर्छ ।


मानविय लापरवाहीले नै आगलागीका घटनाहरु बढि भइरहेको छ । चुरोटको ठूलो सल्किदा आगलागीका घटनाहरु भएका छन्, भने आगोसंग ख्याल ठट्टा गर्दा पनि यसरी आगलागीका घटनाहरु भइरहेका छन् । त्यति मात्रै होईन्, आगलागी भएपछि बर्षादमा राम्रो घाँस उम्रिने भन्दै नियोजित रुपमा पनि आगलागी गराउने गरेको पनि पाइन्छ । यसरी सानो फाइदाकालागि ठूलो लापरवाही हुँदा क्षति भइरहेका छन् । आगलागी भएपछि हामीसंग आगो निभाउने संयन्त्र पनि प्रभाबकारी छैनन् । भनेको समयमा दमकल नआउने, भएका दमकलको पनि क्षमता नहुँने एउटा पाटो छ । अर्को तर्फ समय ठाउँमा प्रभाबकारी सडक सञ्जाल नहुँने जस्ता कारणले आगो निभाउन निकै कठीनाई भएको छ । दाङको राजपुर गाउँपालिका७ हाडवासमा लागेको आगो निभाउनकालागि दमकल जाने सडक नै नहुँदा त्यसरी क्षति भएको हो ।
आगलागी नियन्त्रणकालागि पूर्व तयारी तर्फ ध्यान नदिदा पनि यसरी गाउँमा आगो पस्ने गरेको छ । बनमा आगलागी भएपनि गाउँमा आगो पस्न सक्ने कुराको सम्भाव्यता अध्ययन गरि पूर्व तयारी गर्न सक्नु पर्छ । बनमा आगलागी भएपनि नजिकका बस्तिहरुले पनि सम्बन्धित निकायमा समयमै खबर गर्नुपर्छ । सोही अनुसार पूर्व तयारी हुन्छ र सम्भावित जोखिम टर्न सक्छ । आगलागीका घटनाबारे नियमित सचेतना फैलाउनु पर्छ । त्यति गर्न सकेमा मात्रै पनि आगलागीबाट हुने घटनाहरु न्यूनिकरण गर्न सकिन्छ । साभार : अग्रिम साप्ताहिक