दाङ,१७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीहरु किताब मात्रै पढ्दैनन्, पढेको कुरा सिक्छन् पनि । विहान किताब पढ्छन् र दिउसो त्यही अनुसार प्रयोगात्मक गर्छन् । त्यसकै एउटा परिणाम हो– विद्यार्थीहरुले बनाएको छुप्रीदेखि विस्कुटसम्मका परिकार । कलेजमा फुड एण्ड डेरीमा अध्ययनरत विद्यार्थीहरुले छुप्री,गुदपाक, विस्कुट, किम्बुको जाम,रसवरी अचार, कोदोको मःम,क्याचअपलगायतका परिकार बनाएका छन् ।
कलेजमा अध्ययनरत विद्यर्थीहरुले प्रयोगात्मक अन्तर्गत बनाएका ति सामग्रीहरु शनिबार पर्दशन गरेका थिए ।“किताबमा पढेको कुरालाई ब्यबहारमा उतार्नकालागि यसरी बिभिन्न परिकार बनाएका हौं”, विद्यार्थी सीमा नेपालीले भनिन्“ विहान पढ्ने र दिनभर परिकार बनाउने गर्छौं ।” आफूहरुले उत्पादन गरेको कुरालाई बजारीकरण कसरी गर्न सकिन्छ, भन्ने पनि यो सिकाईले भूमिका खेल्ने उनको भनाई छ । पढाई पछि आत्मनिर्भर बन्न सकिने र उत्पादन गुण्स्तर मापनकालागि पनि प्रयोगात्मक गरिरहेको खाद्य प्राविधिक जुनु भट्टराईले बताइन् ।
आईतबार उनीहरुले उत्पादन गरेका बस्तुहरु प्रदर्शन गरेका हुन् । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बजारको आबश्यकता अनुसार रैथाने कुराहरु उत्पादन गर्नुपर्ने बताए । ‘खाद्य स्वच्छता र हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजारमा बिक्ने खालका सामग्री उत्पादन गर्नुपर्ने बताए । उनले भने “हामीले उत्पादन गरेको बस्तु उपभोक्ताले खोज्नु प¥यो ।”
त्यस्तै निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले अर्गानिक खाना नै अहिले उपभोक्ताले माग गरिररहेको भन्दै यस तर्फ ध्यान दिनुपर्ने बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरीले गुणस्तरहिन खाद्यवस्तु स्वस्थ हुनुपर्ने भएकाले परीक्षण गरेर मात्रै बजारीकरण गर्नुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले उत्पादित बस्तुको खाद्य स्वच्छता मापन गरेर मात्रै बजार पठाउनु पर्ने बताइन् ।
कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण खाद्य प्रशिक्षक रक्षा पौडेलले गरेकी थिइन् ।
लाइभदाङ । १७ बैशाख २०८१, सोमबार ०८:२१ बजे