राप्तीमा सहकारी सञ्जाल गठन, अध्यक्षतामा भुसाल

देउखुरी, १६ वैशाख ।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा पालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । राप्ती गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार पालिकामा भएको भेलाले तारा प्रसाद भुसालको संयोजकत्वमा नौ सदस्यीय पालिका स्तरीय सहकारी सञ्जाल गठन गरेको हो।

जसको उप संयोजकमा हिमाली न्यौपाने र सचिवमा ऋषिराम खनाल चयन हुनु भएको छ। त्यस्तै सदस्यहरूमा विष्णु गुरुङ,प्रेमलाल चौधरी,सीता पोख्रेल,भिम बहादुर चौधरी,कुसुम चौधरी र दल बहादुर घर्ती रहनु भएको छ।

नव गठित सञ्जालले पालिकाको सहकारी अभियानलाई सशक्त, व्यवस्थित र सुधृढ बनाउन भुमिका खेल्ने जनाइएको छ । संघीय संरचना अनुसार जिल्लामा पालिका स्तरीय संरचना निर्माण भइरहेको जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

काम गर्नका लागि सहज होस भनेर जिल्लामा पालिका स्तरमा पनि संरचना निर्माण थालिएको उहाँको भनाई छ । कानुनमा जिल्ला स्तर सम्ममा मात्र संरचना रहने व्यवस्था भएपनि जिल्लामा नौलो अभ्यास सुरु गरिएको उहाँले बताउनुभयो । कानुनी रुपमा स्थानीय स्तरमा पनि संरचना रहनुपर्छ भनेर आफुहरुले जिल्लामा यस प्रकारको संजाल गठन गरेको उहाँले बताउनुभयो ।

जिल्लाका दश स्थानीय तह मध्ये हाल सम्म चार वटा स्थानीय तहमा सञ्जाल गठन भइसकेको जिल्ला सहकारी संघ दाङले जनाएको छ । यसैबीच राप्ती गाउँपालिका र पालिका अन्तर्गत रहेका सहकारी संस्थाका पदाधिकारी बीच अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका अधिकृत भिमराज पोख्रेल र जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रराज भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकमा बोल्ने वक्ताहरुले सहकारीको विकास बिना राष्ट्रको आर्थिक विकास सम्भाव नहुने बताउनुभएको थियो ।

त्यस्तै उहाँहरुले सहकारी संस्थाहरु समुदाय केन्द्रित भई निम्न आर्थिक स्तर भएका नागरिकहरुको जीवनस्तर परिवर्तन गर्न सक्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

बैठकमा लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका अधिकृत भिमराज पोख्रेलले सहकारी ऐन नियमको बारेमा सहभागीहरुलाई जानकारी समेत गराउनु भएको थियो ।

गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका सहकारी शाखाका प्रमुख दामोदर आचार्यले गर्नुभएको थियो ।