कांग्रेस महाधिवेशनमा आज मनोनयन दर्ता हुने, उम्मेदवारको टुंगो अझै लागेन

दाङ २५ मंसिर ।

काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ।

पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।

उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय हुनेछ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि आइतबार बिहान ११ः०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२ः१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।

सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।


कांग्रेसले यसपटकको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ। यसअघि शुक्रबार नै सुरु भएको बन्दसत्रमा तीन वटा प्रतिवेदन पेस गरिएका छन्।

भृकुटीमण्डपमा शुक्रबार उद्‍घाटन भएको महाधिवेशनको बन्दसत्र राष्ट्रिय सभा गृहमा चलिरहेको छ। महाधिवेशनमा चार हजार ७४३ प्रतिनिधि सहभागी छन्।

कांग्रेसमा संस्थापन र संस्थापनइतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन्। तर दुवै समूहले उम्मेदवारको टुंगो अझै लगाएका छैनन्।

संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवाले फेरि लड्ने निश्चित भए पनि अन्य पदाधिकारीबारे टुंगो लागेको छैन।

नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार छान्न परेको सकस अझै फुकेको छैन।

शुक्रबार महाधिवेशन उद्घाटन सकिएलगत्तै बत्तिसपुतलीमा साझा उम्मेदवार छान्न करिब चार घन्टा बैठक बसे पनि उम्मेदवार छान्न नसकेर शनिबार फेरि छलफल गर्ने तयारी छ।