तुलसीपुरमा अस्थायी क्रसर अनुमतिको बहस : कार्यपालिका सदस्यहरु दुई धार

दाङ
१२ माघ / दाङको तुलसीपुरमा अस्थायी क्रसर अनुमित दिने विषयमा बहस हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित उरहरी–जसपुर–ग्वारखोला सिंचाई आयोजनाकोलागि अस्थायी क्रसर उद्योग अनुमति दिने वा नदिने विषयमा बहस हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाको दुई पटकको बैठक यो एजेण्डामा निष्कर्षविहीन बनेर टुंगिएको छ । पुस २७ गते बसेको बैठकले पनि अस्थायी क्रसर उद्योग सञ्चालनमा दिने सन्दर्भमा निष्कर्ष निकाल्न सकेन । निष्कर्ष निकाल्न नसकेपछि आर्थिक समिति संयोजक माधव वलीलाई अध्ययनकालागि जिम्मेवारी दिएको थियो ।

त्यसपछि माघ ३ गतेको बैठकले टुंगोमा पु¥याउने भन्ने अपेक्षा गरिएपनि त्यो बैठकले निष्कर्ष निकाल्न सकेन । कार्यपालिका सदस्यहरु पनि दुई धारमा विभाजन भएका छन् । माओवादी,काँग्रेस तथा समाजवादी पार्टी निकट कार्यपालिका सदस्यहरुले अस्थायी क्रसर उद्योग सञ्चालन अस्वीकार नै गर्ने गरेका छन्, भने एमाले निकटले अध्ययन पनि के निष्कर्ष निस्किन्छ, त्यही अनुसार गर्ने भन्ने प्रतिक्रिया दिएका छन् । काँग्रेस निकट एक कार्यपालिका सदस्यले भने‘माघ ३ गतेको कार्यपालिका बैठकले अस्थायी क्रसर उद्योग सञ्चालन नदिने गरि यो च्याप्टर नै क्लोज भइसकेको छ ।’

तर, एमाले निकट रहेका नगरका प्रबक्ता तथा तुलसीपुर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले भने यो विषयमा अध्ययन गरेर मात्रै निष्कर्ष निकाल्ने बताए ।‘ठेकेदारले माग गरेपछि कार्यपालिका बैठकमा हामीले छलफल गरेका हौं’,उनले भने‘त्यस विषयमा आाबश्यक अध्ययन गरेर मात्रै निष्कर्ष निस्किन्छ ।’

बैठक ब्यबस्थापन इकाई शाखा प्रमुख झरेन्द्र खरेलले पनि यस विषयमा प्रतिवेदन तयार गर्नकालागि समिति तयार भएको प्रतिक्रिया दिए । आर्थिक समिति संयोजक माधव वलीले पनि यो विषय छलफलमै भएको बताए । उनले क्रसर सञ्चालनमा ल्याएपछि उपमहानगरपालिकालाई कति आम्दानी हुने, कुन स्थानमा राख्ने, त्यसको क्षमता कति हुने, आबश्यक सामग्रीहरु कहाँबाट ल्याउने, स्थानीयको भावना केछ, त्यसको औचित्य के हो भन्ने कुरा पुष्टि हुनुपर्ने बताए ।

अस्थायी भनेर अनुमति लिएर स्थायी रुपमै सञ्चालन गर्ने यस अघिका अभ्यास रहेकाले शंका उत्पन्न भएको भन्दै सोही अनुसार आफूले कुरा उठाएको एक कार्यपालिका सदस्यले बताए ।‘अस्थायी भनेर अनुमति दिने र भोलि त्यसैलाई स्थायी बनाउन रणनीति हुनसक्छ’, उनले भने‘त्यसैले हामीले अस्थायी क्रसर अनुमति दिन नहुँने आवाज उठाउँदै आएका छौं ।’


दाङ–सुर्खेत सडकखण्ड निर्माणकालागि कालिका कन्ट्रक्सनले ठेक्का पाएको थियो । त्यतिबेला पश्चिम दाङका केही ब्यक्तीहरुले अस्थायी क्रसर चलाउनकालागि सेयर लगानी गरेका थिए । सोही अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. २ मा भाग्यलक्ष्मी क्रसर उद्योग सञ्चालनमा आयो । जुन क्रसर तत्कालिन अबस्थामा अस्थायी थियो । सडक कालोपत्रकालागि सञ्चालनमा आएको उक्त क्रसर कालोपत्र सकिएसक्दा पनि सञ्चालनमा रहिआएको छ । त्यतिमात्रै होईन्, स्थायी रुपमा सञ्चालन गरिरहेको छ । त्यो क्रसरमा पश्चिम दाङका सबै पार्टीलाई प्रतिनिधित्व हुने गरि सेयर सदस्य राखिएको छ । जुन पार्टीका सरकार आएपनि त्यो क्रसरलाई कुनै असर नपर्ने गरि सेयर सदस्यता प्रदान गरिएको स्रोतले बतायो । ‘जसको सरकार आएपछि क्रसरलाई संरक्षण हुन्छ, भनेर यहाँका ठूला नेताहरुलाई सेयर प्रदान गरिएको छ’, स्रोतले भन्यो‘यही प्रबृति १२ नम्बर वडामा पनि देखिन सक्छ ।’

सिंचाई कुलो निर्माणकालागि अस्थायी क्रसर उद्योग सञ्चालन गर्न आबश्यक नरहेको तुलसीपुर १२ का एक स्थानीय नेताले भने । यदि क्रसर अस्थायी क्रसर उद्योग सञ्चालनमा आएमा विरोधमा उत्रिने समेत त्यहाँका स्थानीयको भनाई छ ।

सिंचाई कुलो निर्माणको ठेक्का नेपालगञ्जस्थित ठेकेदारले पाएका छन् । सोही नहर निर्माण भएपछि जसपुुर र उरहरी मौजाको सयौ विघा जग्गामा सिंचाई पुग्नेछ । त्यहाँका स्थानीयको लामो प्रयासपछि संघीय सरकारले बजेट बिनियोजन गरेको हो ।

साभारः अग्रिम साप्ताहिक

May be an image of text