सीडद्वारा ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तुलसीपुर,३० चैत । दाङका बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

समाजमा वातावरणीय शिक्षाको विकास(सीड)ले डिकेए अस्ट्रियाको सहयोगमा ५८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । तुलसीपुर र दंगीशरणका बिभिन्न ११ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला,कपी, कलमलगायतका सामग्री सहयोग गरेको कार्यक्रम निर्देशक भागिराम चौधरीले बताए ।

उनका अनुसार दंगीशरण गाउँपालिका वडा नं.१ र २ तथा तुलसीपुरको १०, ११, १२, १३ र १६ का बिभिन्न विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।


सीडका अध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

अमर मावि उरहरीमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरीले सहयोगीदाताले गरीब विद्यार्थीहरुलाई सहयोग गर्ने गरेको भन्दै यसलाई सदुपयोग गर्नुपर्ने बताईन् । कार्यक्रमको सहजीकरण सीडका सामाजिक परिचालक विनोद चौधरीले गरेका थिए ।