शिक्षण सिकाइमा समावेशीकरण

नेत्रलाल भट्टराई
हामी सबैलाई थाहा छ, विद्यालयः हाम्रो समाज र समुदायको साझा थलो हो। हाम्रै विद्यालयमा नै समाजका सम्पूर्ण बालबालिकाहरुले स्वतन्त्रतापुर्बक रमाउन, खेल्न, सिक्न, आफ्नो प्रस्तुति दिन, आफुलाई निखारता ल्याउन र आफुलाई अरु सङ्ग अन्तरघुलन हुन मौका पाउँछन्। हामी शिक्षण पेशामा लाग्ने शिक्षक, विद्यालय प्रशासन, विद्यालय ब्यबस्थापनमा रहने निकाय, सम्बन्धित सरकारी निकाय, स्थानीय तह चाहे अभिभावक नै, सबैको पहलले नै कक्षाकोठालाई पुर्ण समावेशि बनाउन जरुरी हुन्छ भने शिक्षण सहजीकरण प्रक्रिया पनि पुर्ण रूपमा समावेशी हुन अत्यन्त जरुरी हुन्छ।

त्यसमा महत्त्वपूर्ण भुमिका शिक्षकको नै हुन्छ ! शिक्षकले कक्षाकोठामा आफ्नो कक्षा शिक्षण गर्दा आफ्नो कक्षाकोठामा भएका सम्पूर्ण बालबालिकाले समान सिक्ने अवसर पाए कि पाएनन् भन्ने पुर्ण हेक्का राख्नुपर्छ । हामीले शिक्षण गर्ने हरेक कक्षा कोठामा भएका छात्रा, अपांग,अल्पसंख्यक, विभिन्न वर्ग र समुदायका बालबालिका तथा कमजोर क्षमता भएका बालबालिकाहरुलाई समान व्यबहार एवम् उनीहरुको सिकाइ क्षमताका आधारमा कक्षा शिक्षण गर्नु नै शिक्षण सिकाइमा समाबेशिकरण हो। प्रायः हामी शिक्षण गर्ने शिक्षकको बानी जो बोल्छ, जसले क्रस प्रश्न गर्छ, जो अलि टाँठोबाठो छ त्यसैलाई मात्रै हेरेर त्यही अनुसार कक्षा शिक्षण गर्ने चलन हुन्छ जसको कारणले कक्षा कोठामा भयका तमाम बालबालिका सिकाइबाट बन्चित भएका हुन्छन् जुन कुरा शिक्षण गर्नेलाई पत्तै हुँदैन। कक्षा शिक्षण गर्दा सबै बालबालिकालाई जिज्ञासा राख्ने मौका दिने, उनीहरुको प्रतिक्रिया सुन्ने, छलफलमा भाग लिने, ब्यक्तिगत क्षमतालाई ध्यान दिदै सिकाइ प्रक्रिया अगाडी बढाउन सकेमात्र अपेक्षित उपलब्धी हासिल गर्न सकिन्छ ।

शिक्षकले आफ्नो कक्षाकोठामा बिषयवस्तुको सिकाइ क्रियाकलापलाई पुर्ण समाबेशि बनाउन ब्यक्तिगत शिक्षण तथा समुह शिक्षण जस्ता विभिन्न प्रक्रिया अपनाउनु पर्दछ। चाहे विद्यार्थीहरुलाई कक्षाकार्यमा सहभागी गराउदा होस वा गृहकार्य गराउदा होस् विद्यार्थीहरुको क्षमता, रुचि तथा स्वभावलाई उच्च सम्मान गर्नुपर्ने हुन्छ। कक्षाकोठामा पुर्णरुपमा समाबेशी बनाइ गरिने शिक्षण सिकाइले विद्यार्थीहरुको आत्मबलको विकास, विद्यार्थीहरुमा भएका अन्तर्निहित क्षमताको प्रस्फुटन, सहयोगी भावनाको विकास, लगनशीलता, इमानदारी, उत्तरदायी, पुर्ण जिम्मेवार, अनुशासित जस्ता गुणहरुको विकास हुन्छ। विद्यार्थीहरुमा यी गुणको विकास गर्न पनि कक्षाकोठामा हुने सिकाइ पुर्ण समाबेशी हुन अत्यन्त जरुरी छ।


अबको युग बिज्ञान, प्रविधिको युग हो, बिज्ञान प्रविधिको प्रयोग बिना अबको शिक्षण सिकाइले खासै सार्थकता पनि पाउदैन अझ भनौं प्रविधिबिनाको सिकाइले अहिलेको समयले मागेको दक्ष जनशक्ति उत्पादन गर्न प्रायः सकिदैन । अहिले प्रयोगमा आएका विभिन्न प्राविधिलाई हामीले शिक्षण सिकाइमा प्रयोग गर्दै गयौं भने मात्रै बिषयवस्तुले दिन खोजेको सीप सिकाउन सकिन्छ । शिक्षण गर्ने शिक्षक पनि समय अनुसार परिमार्जित हुन अपरिहार्य भैसकेको छ।

आजका बालबालिकाले प्रविधिको प्रयोगले घरमै पनि धेरै कुरा सिकिसकेका हुन्छ्न् तिनीहरुलाई त्यही अनुसार शिक्षण गर्न शिक्षण आफै प्रबिधिमैत्री हुन अपरिहार्य छ। कक्षा कोठामा प्रविधिको प्रयोगमा पनि समाबेशिकरण अपरिहार्य हुन्छ। सबैले देख्न सक्ने, सुन्नु सक्ने, प्रयोग गर्न अवसर पायमा मात्रै सम्पूर्ण विद्यार्थीहरुको क्षमताविकास हुन्छ । यसरी अबको शिक्षण प्रविधिमैत्री तथा पुर्ण समाबेशी बनाउन सकेमात्र सिकाइले सार्थकता पाउछ। त्यसका लागी सम्बन्धित सबैको ध्यान जान जरुरी छ। साभारः अग्रिम साप्ताहिक ।