छिटो–छिटो मुद्दा फर्छयौट गर्ने उच्च अदालतको प्रयास

दीपक बोहरा
तुलसीपुर, २७ चैत ।
उच्च अदालत तुलसीपुरले मुद्दामा बिलम्ब नगर्ने प्रयास थालेको छ । अहिले पनि दुई बर्ष नाघेका मुद्दाहरु रहेको भन्दै अब त्यसरी लामो समयसम्म उजुरी ‘पेन्डिङ’ नगर्ने गरि तयारी गरिएको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नित्यानन्द पाण्डेले बताए । उनका अनुसार हाल दुई बर्ष नाघेका मुद्दाहरु ८ वटा रहेका छन् ।

ति मुद्दालाई तत्काल हल गर्ने समेत उनले बताए । “औपचारिक प्रक्रिया बिलम्ब हुँदा यसरी लामो समय मुद्दा पेन्डिङ हुने गर्छन”, उनले भने “दोहोरो छलफलकालागि अर्को पक्षलाई पनि बोलाउनु प¥यो, तर, अर्को पक्ष आउनु हुँदैन, त्यसले गर्दा पनि ढिला हुने गर्छ ।”

उनका अनुसार कुनै मुद्दामा डिएनए टेष्ट गर्नुपर्ने हुन्छ, तर, त्यो रिपोर्ट डेढ बर्ष पछि आउने गर्दा पनि ढिलाई हुने गरेको छ । हाल ‘डिसिएम’ सेवा सुरु भएको भन्दै त्यो सुरु भएपछि १८ महिना भित्रमा सबै प्रकृतिका मुद्दाहरु फर्छयौट गर्न सकिने उनले बताए । “डिसीएम प्रबिधि सञ्चालनमा केही चुनौति आएपनि त्यसलाई प्रभाबकारी बनाउन सकिएमा आवश्यकता अनुसार छिटो–छिटो मुद्दा फर्छयौट गर्न सकिन्छ”,उनले भने ।

मुद्दा फर्छयौटलाई छिटो गर्न अनलाईन प्रणालीबाट तारेख लिने सुविधा दिएको भन्दै यो सेवा लिन पनि उनले आग्रह गरे । त्यस्तै अनलाईन बहसको समेत सुविधा रहेको भन्दै टाढा भएमा बहसकालागि अदालत नै आउनु पर्ने अबस्था समेत नहुँने मुख्य न्यायाधीश पाण्डेले बताए ।

उच्च अदालत तुलसीपुरमा १४ महिनादेखि २ बर्षसम्मका २४ वटा, १ बर्षदेखि १८ महिनासम्मका २५ वटा, ६ महिनादेखि १ बर्ष भित्रका २०१ र ६ महिना भित्रका ३ सय ४८ मुद्दा फर्छयौट गर्न बाँकी छन् । कैदी बन्दीहरुको ‘भिडियो कन्फरेन्सिङ’ मार्फत पनि बयान लिने गरेको समेत मुख्य न्यायाधिश पाण्डेले बताए ।

सबै भन्दा धेरै सरकारवादी फौजदारी मुद्दा
उच्च अदालत तुलसीपुरमा सबै भन्दा धेरै सरकारबादी फौजदारी मुद्दा दर्ता भएका छन् । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेका अनुसार चालु आर्थिक बर्षको चैत २३ गतेसम्म सरकारी फौजदारी ५ सय ३६ वटा मुद्दा परेका छन् । ति मध्ये २ सय ७८ फर्छयौट भएका छन्, भने २ सय ५८ बाँकी छन् । सरकारबादी फौजदारी तर्फ सबै भन्दा धेरै बलात्कारका मुद्दा पर्ने गरेको उनले बताए । त्यसपछि लागु औषधका मुद्दाहरु पर्ने गरेका छन् । त्यस्तै ब्यक्तीबादी देवानी अन्तर्गत ३ सय ४४ मुद्दा परेकोमा १ सय २५ फर्छयौट भएका छन्, भने व्यक्तीबादी फौजदारी १६४ मुद्दा परेकोमा ७१ वटा फर्छयौट भएका छन् ।

९८ वटा रिट निवेदन परेकोमा ६५ वटा फर्छयौट भएका छन्, भने एउटा सरकारवादी देवानी मुद्दा परेकोमा उक्त मुद्दा समेत फर्छयौट भएको छ । चालु बर्षको चैत २३ सम्म सबै एक हजार एक सय ७६ मुद्दा परेकोमा ५ सय ७० फर्छयौट भएका छन्, भने ६ सय ६ वटा मुद्दा फर्छयौट हुन बाँकी छन् ।


बढ्दै मुद्दाको संख्या
उच्च अदालत तुलसीपुरमा पछिल्लो ५ बर्षमा मुद्दाको संख्या बढ्दै गएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८०/८१ चैत २३ गतेसम्मको तथ्याँक अनुसार वर्षेनी मुद्धाको संख्या बढ्दै गएको पाईएको छ ।

अदालतमा चालु आर्थिक २०८०/८१ को चैत २३ गतेसम्म ६ सय ५७ मुद्दा दर्ता भएका छन् भने गत वर्षको जिम्मेवारी सरि आएका ५ सय १९ र नयाँ दर्ता भएका गरि १ हजार १ सय ७६ वटा मद्दा मध्ये ५ सय ७० फर्छयौट भएका छन् । त्यस्तै ६ सय ६ वटा फर्छयौट गर्न बाँकी रहेको उच्च अदालत तुलसीपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

रजिस्ट्रार अधिकारीका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा जिम्मेवारी सरेको १९५ र नयाँ दर्ता भएको ३८७ गरी ५८२ मुद्दामा ४०८ मुद्धा फर्छयौट भएका थिए, भने १७६ मुद्दा फर्छयौट हुन बाँकी थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा सरि आएका १ सय ७४, नयाँ दर्ता भएका ६ सय ९ गरी ७ सय ८३ मुद्दामा ५२० वटा मुद्दा फर्छयौट भएका थिए भने २ सय ६३ मुद्दा पर्छर्यौट हुन बाँकी थिए । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सरि आएको २ सय ६३, नयाँ दर्ता भएका ७ सय ३० मुद्दा गरि ९ सय ९३ मुद्दामा ६ सय ४ फर्छयौट भएका थिए भने ३ सय ८९ मद्दा फर्छयौट हुन बाँकी रहेको रजिस्ट्रार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सरि आएको ३ सय ८९ मुद्दा, नयाँ दर्ता भएको ६ सय ६३ गरी १ हजार ५२ मुद्दा मध्ये ५ सय ३३ पर्छयौट भएको थियो भने ५ सय १९ मुद्दा फर्छयौट हुन बाँकी रहेको थियो ।
साभार : अग्रिम साप्ताहिक ।

पत्रिकाको पुरा अंक हेर्नुहोस् :