त्रिसिद्धेश्वरी यातायातले ल्यायो सुतेर यात्रा गर्न मिल्ने बस

दाङ,२४ माघ । त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुरले सुतेर यात्रा गर्न मिल्ने बस ल्याएको छ । मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि साबिकको राप्ती अञ्चलमै पहिलो पटक ‘एयर सस्पेन्सन सिलिपर एसी’गाडीबाट सेवा दिन थालिएको अध्यक्ष शुरेस हमालले बताए ।‘हामीले पहिलो पटक एयर सस्पेन्सन गाडीहरु ल्याएका छौं’,उनले भने‘यसले यात्रुहरुलाई सहजता थप्नेछ ।’

यस्ता ४ वटा गाडीहरु तुलसीपुर ल्याएको अध्यक्ष हमालको भनाई छ । उनका अनुसार ती गाडी ४० सिटे छन् । जसमध्ये ३२ वटा सिटहरुमा बसेर यात्रा गर्न सकिने र ८ वटा सिटहरुमा सुतेर यात्रा गर्न सकिने बताए । एउटा क्याबिनमा २ जना सुतेर यात्रा गर्न मिल्छ ।

पहिलो चरणमा ति गाडीहरु दाङ–काठमाडौं चल्नेछन् । दाङ–काठमाडौं यात्राका क्रममा सामान्य सिटमा १ हजार ८ सय र सुतेर जाने सिटमा दुई हजार भाडा कायम गरिएको अध्यक्ष हमालले बताए । उनका अनुसार ८० लाखको लागतमा उक्त गाडी भित्र्याईएको हो । ति गाडीले विहीबारदेखि सेवा दिनेछन् ।

हाल प्रालिले नेपालका बिभिन्न स्थान तथा भारतमा पनि सेवा दिदै आएको छ । प्रालिसंग हाल ५६५ साना,ठूला तथा मझौला गाडीहरु छन् । यात्रुहरुको मागलाई मध्येनजर गरि आफूहरुले डिलक्स, एसी, ब्लू स्काई, सेभेन स्टार गाडीहरु यस अघि नै सञ्चालनमा ल्याएको अध्यक्ष हमालको भनाई छ । साथै केही समयमा अनलाईनबाट टिकेट बुकिङ गर्ने तयारी गरेको समेत उनको भनाई छ । अध्यक्ष हमालका अनुसार नेपालका ५० जिल्ला तथा भारतको नयाँ दिल्लीसम्मकालागि सेवा प्रदान गर्दै आएको छ ।


२०४१ सालमा राप्ती अञ्चल सार्वजनिक बस ब्यबसायी समिति सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न थालिएको हो । त्यसपछि समितिहरुलाई प्रालिमा जानुपर्ने नीति ल्याएपछि २०७६ सालमा प्रालिमा गएको थियो । हाल प्रालिमा १८७ जना कर्मचारी कार्यरत छन् । प्रालिमा मजदुर तथा कर्मचारी गरि दुई हजार जनाले रोजगार पाएको समेत अध्यक्ष हमालले बताए । समितिले कर्मचारी तथा ब्यबसायीहरुको १० लाखसम्मको दुर्घटना बीमा, ३ लाखसम्मको औषधी उपचारको बीमाको समेत ब्यबस्था गरेको छ । साथै प्रालिमा आबद्ध ब्यबसायीको मृत्यु भएमा परिवारलाई १ लाख तथा कर्मचारी वा मजदुरको मृत्यु भएमा २५ हजार सहयोग गर्दै आएको छ ।

त्यस्तै कर्मचारी तथा मजदुरहरुलाई क्यान्सर, मिर्गौलाजस्ता रोग लागेमा ५० हजार सहयोग उपलब्ध गराउँदै आएको छ । त्यस्तै प्रालिमा दर्ता भएका गाडीको बीमा गराउँदा ५ हजार नगद समेत सहयोग गर्ने गरेको अध्यक्ष हमालले बताए । प्रालिले दुर्घटना न्यूनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा विश्वकर्मा बाबाका मन्दिरहरु र प्रतिक्षालयहरु निमार्ण गरेको छ । प्रालि मार्फत सञ्चालन भएका गाडीहरुमा दृष्टिविहिन यात्रुहरुलाई निःशुल्क र अगांग यात्रुहरुलाई ५० प्रतिशत सम्म छुट दिर्दै आएको छ ।

गोला पर्थाबाट बस उपहार
त्रिसिद्देश्वरी यातायात प्रालिले अधिवेशनको अवसरमा गोलापर्थाबाट एक जना ब्यबसायीलाई बस उपहार दिने भएको छ । फागुन १२ र १३ गते हुने अधिवेशनका क्रममा उक्त कार्यक्रम हुनेछ । अधिवेशनको उद्धघाटन नेपाल यातयात व्यवसायी राष्ट्रिय महासघंका केन्द्रिय अध्यक्ष बिजयकुमार स्वाँरले गर्ने तय भएको छ ।