लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीद्वारा राजीनामा

दाङ,२६ चैत ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री जोखबहादुर महरालाई सोमबार राजीनामा पत्र बुझाउनुभएको छ । सरकार परिवर्तन भएसँगै उहा आयोगबाट बाहिरिनु भएको हो ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा.केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता बसेको २०८० वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । उहाँसँगै आयोगका सदस्यहरु डा.सुरजकुमार वली, सरोज खनाल र गीता केसीले पनि राजीनामा दिनुभएको छ ।


केसीले यसअवधिमा सातै प्रदेशका योजना आयोगहरुको राष्ट्रिय भेला मार्फत प्रदेशमा रहेका योजना सम्बन्धी राष्ट्रिय, प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बनी घोषणपत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुना र लुम्बिनीको दीगो कृषि विकास रणनीति तयार गरेको बताउनुभयो।

त्यस्तै दोस्रो आवधिक योजना आधारपत्र तयार गरी आयोगको बैठकबाट स्वीकृत गरेको, आयोगमा तथ्यांकीय प्रणालीको शुरुवात, योजना बैंक निर्माणको आधारपत्र तयार गरिएको र मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधी र कार्यक्रम दस्तावेज तयार गरिएको उहाँले बताउनुभयो। लुम्बिनी प्रदेशका विकास साझेदार निकायसँगै छलफल, प्रदेशको स्रोत र प्रादेशिक सम्भावना तथा रणनीति तयार लगायतका महत्वपूर्ण काम आयोगले गरेको उहाँले बताउनुभएको छ ।