राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरौँ : नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
लमही, १८ चैत ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उपभोक्ताले सहज रुपमा पानी पाउने गरि सेवा प्रवाह गर्न आग्रह गर्नु भएको छ । निम्न वर्गका उपभोक्ताले पनि यस अमिलिया पम्पिङ खानेपानीको सुविधा पाउनु पर्छ भन्ने कुरालाई आत्मसात गरेर संस्था अगाडी बढ्नु पर्ने नगर प्रमुख चौधरीको भनाई छ ।

संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गर्न अमिलिया पम्पिङ खानेपानी संस्थालाई निर्देशन दिनु भएको छ । नेपाल सरकारले प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यालाई स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य हासिल गर्न सबै आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो ।

त्यसैगरी लमही नगरपालिका९ का वडा अध्यक्ष भेष बहादुर केसीले सर्वसुलभ तरिकाले उपभोक्ताको घरघरमा खानेपानी पुग्नु पर्ने कुरामा जोड दिनु भयो । शुरुवाती चरणमा रहेको अमिलिया खानेपानीसंग वडा र नगरपालिका सहकार्य गरेर अगाडी बढ्न तयार रहेको वडा अध्यक्ष केसीको भनाई छ


अहिले अमिलिया क्षेत्रमा दुई सय बढी घरधुरीको घरमा धारा जडान गरिएको छ । खानेपानी टंकीको क्षमता डेढ लाख लिटर रहेको अध्यक्ष जगदिश प्रसाद द्विवेदी जानकारी दिनु भयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ र स्थानीयको जनश्रमदान गरेर २ करोड ९७ लाख ७७ हजार ५ ३२ रुपैयाँको लागतमा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको हो । २०७४ सालमा सम्झौता भएर निर्माण कार्य शुरु भएको आयोजनाको काम २०८० मा सम्पन्न भएको हो । कार्यालयले अमिलिया पम्पिङ खानेपानीलाई हस्तान्तरण गरेको छ । निमित्त कार्यालय प्रमुख वसन्त कुमार दुलालले संस्थाका अध्यक्ष जगदीश प्रसाद द्विवेदीलाई स्वामित्व पत्र हस्तान्तरण गर्नु भएको हो ।

संस्थाका अध्यक्ष जगदिश प्रसाद द्विवेदीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपभोक्ता श्रीराम दहितले स्वागत गर्नु भएको थियो भने सहजीकरण बद्री पाण्डेले गर्नु भएको थियो ।