करेन्ट लागेर मृत्यु भएका परिवारलाई सरकारद्वारा आर्थिक सहयोग

तुलसीपुर,११ चैत । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार गृहमन्त्रालयबाट प्रत्येकलाई एक/एक लाख, जिल्ला विपद ब्यबस्थापन समितिबाट प्रत्येकलाई दुई/दुई लाख, नेपाल विद्युत प्राधिकरण लमहीद्वारा जनही ५/५ लाख रुपैँया सहयोग गर्ने सहमति भएको छ ।

पीडित र पीडक पक्षबीच आईतबार भएको सहमति अनुसार मृतक परिवारका सदस्य राप्ती गाउँपालिका वडा नं.३ मसुरिया निवासी लालबहादुर केसीलाई योग्यता बमोजिम नेपाल विद्युत प्राधिकरणमा रोजगारको ब्यबस्थापन गर्ने समेत सहमति भएको छ । पीडित पक्षका घाइतेहरुको उपचारमा लागेको खर्च,दाहसंस्कार तथा किरिया खर्चकालागि ६० हजार तथा थप राहातकालागि पालिकाको सिफारिशमा नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति समक्ष पेश गर्ने समेत सहमति भएको छ ।


त्यस्तै पीडित परिवारलाई नगद राहात उपलब्ध गराउने तथा पीडित परिवारकी मृतक दिलसरा केसीको छोरी इश्वरी सुनारलाई कक्षा १० सम्म राप्ती गाउँपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । पीडित पक्षले आईतबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पनि गरेका थिए । तर, विद्युतको लाईन चुडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीन जनाको मृत्यु भएको छ । हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो ।

दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।