तुलसीपुरमा हाटबजार सञ्चालनमा ल्याउने तयारी 

तुलसीपुर, ९ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को सितलपुरमा कृषि हाटबजार सञ्चालनमा आउने भएको छ । मंसिर भित्र हाटबजार सञ्चालनमा ल्याउने गरि तयारी भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । “हामीले सबै तयारी गरिसकेका छौं”,उनले भने “मंसिर भित्रै सञ्चालन गर्ने गरि अगाडी बढेका छौं ।” हाटबजार सञ्चालनमा ल्याउनकालागि राम्रा हाटबजारको अवलोकन समेत गरिएको छ । सल्यानको कपुरकोट स्थित कृषि हाटबजार र दाङको राप्ती गाउँपालिकाको हाटबजारको अवलोकन समेत गरिसकिएको वडाध्यक्ष चौधरीले बताए । ति हाटबजारको अभ्यासबाट सिकाई गरेर सुरुवात गर्ने तयारी रहेको उनले बताए ।

हाटबजार सञ्चालनकालागि टहरा निर्माण गरिसकिएको छ । भण्डारणकालागि दुई वटा साना भवन पनि निर्माण भइसकेका छन् । प्रदेश सरकारको १० लाख लगानीमा उक्त हाट बजारका संरचना निर्माण भएको हो । १२ नम्बर वडाको कचिला, कचेलीसहित वडा नं. १३ को बखरिया, वडा नं.११ को उरहरी, मोतिपुर, वडा नं. १४ को अकमी, मटेरा,वडा नं.१५ को मलवार, धमकापुर क्षेत्रमा उत्पादन भएको तरकारीलाई बजारीकरण गर्नकालागि हाटबजार सञ्चालनमा ल्याउन लागिएको हो । “तरकारी उत्पादनका हिसाबले यी क्षेत्र तुलसीपुरकालागि उत्तम क्षेत्र हुन्”,उनले भने “हाटबजार लागेपछि किसानहरुलाई बजारीकरणमा समस्या हुँदैन ।”


अहिले किसानले उत्पादन गरेको तरकारीमा विचौलियाले न्यून मूल्यमा किनेर चर्को मूल्यमा विक्री गर्ने गरेका छन् । यसले किसानहरुलाई मारमा पारेको भएपनि यो सञ्चालनमा आएमा सहज बनाउने तुलसीपुर उद्योग वाणिज्य संघका सचिब नवीन राइले बताए ।  साभारः अग्रिम साप्ताहिक