शिक्षा मन्त्रालयबाट हाजिर हुन फोन आउँदा…

टेकराज भण्डारी
डा.सागर पन्थी दन्त रोग विशेषज्ञ डाक्टर हुन् । उनको जन्म २०५२ साल जेठ १ गते घोराही उपमहानगरपालिका वडा नं.४ लक्ष्मीपुर, दाङमा भएको हो । सानैदेखि उनी पढाइमा लगाव थिए ।

उनले कक्षा १ र २ आदर्श उच्च मा.विमा अध्ययन गरे । त्यसपछि उनले घोराहीको माउन्ट भ्यू इंग्लिस बोर्डिङ स्कुलमा पढ्न थाले । त्यहि स्कुलबाट एस.एल.सी.पास गरे । त्यसपछि उनी छात्रवृत्ति प्राप्त गरि काठमाडौंको भि.एस.निकेतन उच्च मा.विबाट प्लसटु पास गरे ।

शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्तिमा विरगंजको एम.वि. केडिया डेन्टल कलेजबाट २०७८ मा बि.डि.एस पढाइ समाप्त गरे । उनी भन्छन् ‘छात्रवृत्ति पाउदैन भनेर डुक्क भएर बसेको त एकासी शिक्षा मन्त्रालयबाट हाजिर हुनु भनेर पो फोन आयो । मत हस्याङफस्याङ गर्दै दाङबाट काठमाडौं पुगेको पत्तै पाईन । समय हेर्छु त ४ बजे भित्र पुगि सकेछु ।’

उनको घरमा बाबु, आमा, दुइ दिदी र दाइ छन् । उनको बाबु अवकाशप्राप्त सरकारी कर्मचारी र आमा गृहिणी छन् । उनी घरको कान्छा छोरा हुन् । उनी फुर्सदको समयमा गितहरू गुनगुनाउन र गितार बजाउन पनि रुचाउछन् ।


उनी २०७९ साल असार महिना देखि हालसम्म राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर,दाङमा छात्रवृत्ति करारमा डेन्टल सर्जन (आठौ तह)को रूपमा कार्यरत छन् । उनले स्नातकोत्तर पढ्न लागेका छन् ।

उनी भन्छन् ‘अस्पतालमा काम गर्दै थिए । एक्कासि लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धनबहादुर मास्की आउनु भयो । उहाँ त्यतिबेला लुम्बिनी प्रदेश सरकारको अर्थमन्त्री हुनुहुन्थ्यो । मलाई लागेको थियो , उहाँ अनुगमनमा आउनु भएको होला भनेर तर उहाँ दाँत सफा गर्न आउनु भएको रहिछ । मैले उहाँको दाँत सफा गर्दै थिए, उहाँले मलाई धेरै सल्लाह सुझाव दिनु भयो, उहाँले दिएको सल्लाह सुझावले झन् मलाई काम गर्ने उर्जा थप्यो ।’

उनले अझै विशेषज्ञ पढाइ गरेर यही फर्किएर यहाँका दात तथा मुखका बिरामीहरूलाई सेवा गर्ने बताए । सुख र दुःख जीवनमा आइरहन्छन् सुखमा मातिनु हुँदैन र दुःखमा आतिनु हुँदैन, सेवा गर्नु भनेको मानवीय धर्म हो भन्ने उनको भनाइ छ । साभारः अग्रिम साप्ताहिक