तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी घनश्याम डाँगी युवा पुस्ताका लोकप्रिय व्यबसायी हुन् । उनले भर्खरै तुलसीपुरको ‘ख’ लाईनबाट लोकप्रिय युनिसेक्स सैलुन एन्ड लोकप्रिय बेकरी एन्ड क्याफे सञ्चालनमा ल्याएका छन् । काठमाडौं र बुटवलका दक्ष जनशक्तिहरु ल्याएर तुलसीपुरमै हेयर कटिङ, फेसियल,हेयर कलर, हेयर केराटिन, नेल आर्ट, मेनिकेर, पेडिकेरकासाथै पार्लर सम्बन्धि सेवाहरु भइरहेका छन् । अहिले पहिलो पटक एसी सहितको सैलुन र बेकरी क्याफे सञ्चालनमा आएको हो । करिब ५० लाखको लगानीमा उक्त व्यबसाय सुरु गरेका छन् । त्यतिमात्रै होईन्, उनी तुलसीपुरमा भर्खरै भएको राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्ष समेत भएका छन् । उनै डाँगीसंग हामीले उनको जीवनको बारेमा यहाँ चर्चा गरेका छौं ।
बाल्यकाल
२०४२ सालमा साबिक लक्ष्मपुर गाविस वडा नं. ६ (हाल घोराही उपमहानगरपालिका वडा नं. ३) मा उनको जन्म भएको हो । हाल उनको परिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. दोघरे बस्दै आएको छ । बाल्यकाल मामा घर बेलुवामै वित्यो । पढाईको सिलसिलामा ८ बर्षदेखि बेलुवा बस्दै आएका हुन् । उनको परिवारमा अहिले उनको आमा, श्रीमति, दुई छोरा अनी भाई बुहारी छन् ।
बाल्यकालका रमाईला पल
बाल्यकालमा अहिले जस्तो टिभी, मोवाईल थिएन । त्यतिबेला गुच्चा खेलेर, पौडी खेल्दा रमाईलो लाग्थ्यो । त्यति मात्रै होईन्, मेला पर्वमा जाँदा पनि उनी उत्तिकै रमाउथे । तुलसीपुरमा भोटे मेला गएको र खोरखोरे भन्ने खेलेर २ रुपैँया हारेर केही पनि नखाएर घर फर्केको अहिले पनि उनले याद गरिरहन्छन् । ‘बाल्यकालका रमाईला घटना धेरै छन्, ति सम्झिदा फेरी बच्चा बन्न पाए हुन्थ्यो जस्ता लाग्छ’, उनी भन्छन् ।
पढाई छोडेर विदेश जानु परेको थियो
उनको परिवार मध्यम बर्गको परिवार थियो । त्यसैले उनले पढाईलाई निरन्तरता दिन पाएनन् । उनले एसएलसी पास गरेर आई.ए. मै पढाई ब्रेक भयो । २०५८ सालमा महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरबाट एसएलसी पास गरेका थिए । त्यसपछि आईए पढ्दा पढ्दै १८ बर्षमा पैसा कमाउन विदेश जानु परेको थियो । उनी ५ बर्ष विदेश बसेका थिए ।
‘व्यबसायमै धेरै समय विताएका छौं’
उनले धेरै समय व्यापार व्यबसायमै विताउने गरेका छन् । भन्छन्‘ हामी मध्यम बर्गको परिवारको मान्छे भएको र आफ्नो व्यापार, व्यबसाय र परिवारलाई समय दिनुपर्ने हुन्छ, त्यसकारण धेरै संस्थाहरुमा जोडिन सकेको छैन ।’ हाल उनी माओवादी केन्द्र निकट व्यापारिहरुको संगठन राष्ट्रिय उद्योग व्यापार संगठन तुलसीपुुरका अध्यक्ष छन् । २०५५ सालमा माओवादी भूमिगत भएको समयमा अखिल क्रान्तिकारीको सदस्यता लिएका हुन् । २०६७ सालदेखि अहिलेसम्म अखिल नेपाल यातायात मजदुर संघको जिल्ला सचिब, प्रदेश कोषाध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्य बनेका थिए ।
उनको जीवन संघर्षमा चलिरहेको छ । भन्छन्‘जीवन संघर्षमै चलिरहेको छ, जीवनमा मैले जति संघर्ष कसैले गरेको जस्तो मलाई लाग्दैन । पढ्दा पढ्दै विदेश गएर पुनः अहिले आफ्नै व्यबसाय गर्दै आएको छु, यसमा संघर्ष त हुने नै भयो ।’
जीवनका पल
उनी अझै जीवनमा धेरै संघर्ष गर्न बाँकी रहेको बताउछन् । जीवनमा तिता, मिठा अनुभव छन्। उनले दुवईमा हेभी गाडीको लाइसेन्स निकाल्न सफल भएका थिए । त्यो पल निकै खुसी भएका थिए । किनकी उनले अब आफ्नो लक्ष्यमा पुग्छु, भन्ने लागेको थियो ।
उनले विदेश हुँदा ५०–५२ डीग्रीको गर्मीमा काम गर्नु पथ्र्यो । त्यतिबेला उनले भन्ने गर्थे‘यति दुःख नेपालमै गरे त केही न केही गर्न सकिन्छ होला ।’
जीवनको लक्ष्य
जीवनका लक्ष्य ठयाक्कै यस्तो थियो भन्ने त छैन । उनी भन्छन्‘हामी किसान परिवार भएका कारण आर्थिक रुपले सम्पन्न थिएनौं । बरु कसरी पैसा कमाएर आर्थिक रुपले सम्पन्न बन्न सकिन्छ भन्ने लक्ष्य थियो र त्यो अझै पनि छ ।’
‘जीवन एउटा रंगमञ्च हो’
उनले जीवनलाई रंगमञ्चका रुपमा बुझेका छन् ।‘हामी जीवनको एउटा यात्री हौं, त्यसको हामीले निरन्तर यात्रा गरिरहेका छौं’, उलने भने‘यात्रा गर्ने क्रममा अनेक बाधा, अड्चन आउछन् । कतिबेला रमाईलो पनि हुन्छ, कतिबेला दुःख हुन्छ ।’
आज केही कुरा पाएर खुसी हुने र भोलि केही कुरा पाएर दुःखी हुने मानिशको प्रबृति रहेको उनी बताउछन् । एउटा बच्चा बेलुन पाएर खुसी भएको हुन्छ, भने अर्को व्यक्ती बेलुन बेचेर खुसी भएको हुन्छ, त्यसैले जीवनमा धेरै तनाब लिन नहुँने उनको बुझाई छ । मानिश दुई दिनको पाहुना भएकाले जीवन आफै रंगीन हुने उनी बताउछन् ।
उनी आफ्नो बाँकी जीवन समाजिक क्षेत्रमा विताउने र भोलिका दिनमा आफू नरहेपनि फलानो मान्छे फटाहा थियो भन्ने नभएर, राम्रो मान्छे थियो भन्ने होस्, भन्ने उनको चाहाना छ ।
साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । १६ कार्तिक २०७८, मंगलवार २२:३५ बजे