निजामति र शिक्षणको यात्रा संगसंगै लैजादा…

टेकराज भण्डारी
बाबुराम न्यौपानेको जन्म २०४४ साल असार ४ गते अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वडा नं.७, अड्गुरीमा भएको हो । सामान्य परिवारमा जन्मिएका उनको बाल्यअवस्था अर्घाखाँचीमा बितेको थियो । उनी सानै उमेरदेखि पढाईमा अब्बल थिए । उनले कक्षा १ देखि कक्षा ५ सम्मको अध्ययन घर नजिकैको विद्यालय श्री विद्याविनोद प्रा.वि. अड्गुरीमा गरेका थिए, त्यसपछि १० कक्षा सम्मको अध्ययन श्री कमला माध्यमिक विद्यालय पाली, अर्घाखाँचीमा गरेका थिए । र सोही विद्यालयबाट २०६० सालमा प्रथम श्रेणीमा एसएलसी पुरा गरेका थिए । त्यसपछि उच्च शिक्षा अध्ययनको लागि उनको यात्रा बुटबल तर्फ मोडियो ।
उनले अक्सफोर्ड कलेज बुटबलबाट प्लसटु  र बहुमुखी क्याम्पस बुटबलबाट स्नातक तह पुरा गरे । २०६९ सालमा त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस किर्तीपुर, काठमाडौंबाट स्नाकोत्तर तहको पढाई पुरा गरेका थिए । २०६३ सालमा बुबाको मृत्यु पछि आर्थिक समस्याले गर्दा उनलाई पढाइसंगै जागिर पनि गर्नुपर्ने अवस्था आयो फलस्वरूप स्नातक प्रथम वर्षमा पढ्दा देखि आंशिक रूपमा पढाउने काम सुरू गरे । स्नाकोत्तर तहको अध्ययन पछि काठमाडौंका विभिन्न क्याम्पस तथा ईन्सिच्युटमा विभिन्न महत्वपूर्ण जिम्मेवारीकासाथ अध्यापनमा लागेको उनी बताउछन् ।
न्यौपाने २०७५ सालमा निजामती सेवामा आवद्ध भई करिव डेढ वर्षको तथ्याङ्क कार्यालय कपिलवस्तुको बसाई पछि २०७६ सालदेखि तथ्याङ्क अधिकृतको रूपमा तुलसीपुर उपमहानगरपालिकामा कार्यरत छन् । सूचना अधिकारीको थप जिम्मेवारी पाएका उनी आफ्नो जिम्मेवारी प्रती पूर्ण रूपमा बफादार र ईमान्दार रहेको उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरू बताउँछन् । सरल स्वभावका उनी जीवनमा धेरै संघर्ष गरेर यो स्थानमा आएका हुन् ।
कार्यालयको जिम्मेवारी पुरा गर्न कत्तिको गाह्रो छ भन्ने प्रश्नमा उनी भन्छन, विगको सङ्घर्ष र अनुभवले जिम्मेवारी पुरा गर्न सहज भएको छ । उनी भन्छन् जिवन भनेको अनुभव र सङ्घर्षको सँगालो हो । जागिरको अलावा विहान बेलुकाको समय आंशिक रूपमा शिक्षण पेशामा जोडिएको बताउँछन् । उनी थप्छन्, शिक्षण पेशा मेरो जागिरको सुरूवाती तथा मनपर्ने पेशा हो । २०६३ साल देखि हालसम्म पनि अविछिन्न रूपमा शिक्षण पेशामा जोडिदै आएको छु । अध्ययन, अध्यापन तथा भ्रमण उनको रुचिको क्षेत्र हो ।
प्युठान जिल्ला मल्लरानी गाँउपालिका, बरबोट निवासी रमा पौडेल सँग २०७० सालमा विवाह बन्धनमा बाँधिएका थिए । उनको परिवारमा श्रीमती र १ छोरा छन् । उनी भन्छन् मेरो छोरा भाग्यको प्रतिक हो, छोराको जन्मसँगै दुवै जना सरकारी सेवामा प्रवेश गरियो । हाल उनको श्रीमती शिक्षण पेशामा आवद्व छिन् । सबै मानिसले कुनै न कुनै लक्ष्य लिएर अगाडी बढेका हुन्छन् । न्यौपानेको पनि जीवनमा एउटा लक्ष्य छ,  कर्मचारीको माध्यमबाट समाज र राष्ट्रको सेवा गर्ने । ‘हामीमा भएको अन्तरिक क्षमतालाई बुझेर आफ्नो लक्ष्य पूरा गर्नु पर्छ ।
लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउन सक्छन्’ उनले भने, तर हामीले कहिले हार मान्नु हुदैन । उनी सामाजिक रूपमा पनि त्यतिकै सक्रिय छन् । क्याम्पस पढदा देखिनै विद्यार्थी आन्दोलन तथा पेशागत हकहितको क्षेत्रमा संलग्न उनी हाल नेपाल निजामती कर्मचारी संगठन दाङको सचिवको रूपमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । साभारः अग्रिम साप्ताहिक