प्रायः खानेपानी संस्थाहरुमा अनियमितता हुन्छ, भन्ने कुुरा त्यसमा देखिने राजनीतिक खिचातानी र पदलोलुपताले पनि प्रष्ट्याउने गर्छ । वेलाबखत खानेपानीमा भएका अनियमितताका केशहरु बाहिर आउने गर्छन । केही समय अघि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा अनियमितता भएको कुरा अख्तियारसम्म पुगेको थियो । एक बर्ष अघि हुने भनेको निर्वाचन एक बर्षपछि भयो । बेलझुण्डी खानेपानी खानेपानीमा दुई कार्यकाल हुन लागिसक्यो तर, निर्वाचन हुन सकेको छैन । अहिले काम चलाउ समितिले राज गरिरहेको छ । घोराही खानेपानीमा पटक–पटक एउटै व्यक्ती अध्यक्ष भइरहेका छन् । यी मात्रै होईन्, अधिकांस खानेपानी संस्थाहरुमा एउटै ब्यक्तीले राज गर्ने प्रबृति हावी भएको देखिन्छ । यसले गर्दा पनि खानेपानीमा ब्याप्त भ्रष्टाचार र अनियमितता हुने गरेको देखिन्छ ।
खानेपानीमा एउटै ब्यक्ती पटक–पटक समितिमा रहिरहदा अर्को ब्यक्ती नेतृत्वमा नआउने र त्यहाँ भएका अनियमितताहरु प्रायः बाहिर नआउने हुन्छन्, बाहिर आएपनि समितिका अन्य ब्यक्तीहरुले विद्रोह गर्न थाले, मनमुटाव भयो भने बाहिर आउछन्, नत्र भने विरलै आउछन् । यदि बाहिर आए भने त्यो अनियमितता डरलाग्दो हुन्छ । भर्खरै मात्रै तुलसीपुरको १ र २ नम्बर वडालाई सेवा गर्दै आएको पवननगर खानेपानीमा त्यस्तै देखियो । खानेपानीमा ७१ वटा धाराको ११ लाख ३६ हजार गायव भएको त्यहाँका राजनीतिक दल सम्मिलित अध्ययन समितिले देखाएको थियो । त्यतिमात्रै होईन्, बचतमा अडिटरले अडिट गर्न छुटाएको रकम समेत जोडिएको, पर्खाल,भवन, गेट, प्रतिक्षालय निर्माणकालागि भन्दै १८ लाख २७ हजार पाँचसय ८ रुपैँया थप लगानी गरिएको भएपनि त्यसको खर्च गर्ने आधार र औपचारिक निर्णय नै नभएको, उपमहानगरपालिकाले दिएको ९ लाख बराबरको पाइपको कुनै विवरण नभएको, अनुदानमा आएको पाइप र खरिद गरेको पाइपको विवरण नछुट्याईएको पाईएको थियो । यस्ता थुप्रै त्रुटीहरु अध्ययन समितिले भेटाएको थियो ।
यी त बाहिर आएका केही समस्याहरु मात्रै हुन् । यस्ता थुप्रै समस्याहरु खानेपानीमा देखिने गरेका छन् । अहिले स्थानीय सरकार र खानेपानीको समेत समन्वय हुने गरेको देखिदैन । उनीहरुबीच समानान्तर सरकारजस्तो देखिन्छ । स्थानीय तहको अधिकार भित्र अझै पनि खानेपानी आइसकेको देखिदैन । यसले गर्दा सहज रुपमा खानेपानी समेत पु¥याउने सरकारको दायित्वमा आफ्नो अपनत्व ग्रहण गर्न सकेको अबस्था पनि छैन । खानेपानी संवेदनशील क्षेत्र हो । तर, पनि यस्ता थुप्रै कारणहरुले अझै पनि सहज रुपमा नागरिकले खानेपानी पाउन सकेको अबस्था छैन । त्यसैले खानेपानीमा एउटै ब्यक्ती हावी हुने प्रबृति अन्त्य हुनुपर्छ,भने त्यहाँको सुशासनकोलागि आम नागरिक तथा स्थानीय सरकारले पनि निगरानी गर्न आबश्यक देखिन्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २६ फाल्गुन २०७८, बिहीबार ०८:३० बजे