ढिक्री, खरिया, घोंगी परिकारले विदेशी पाहुनालाई स्वागत

प्रिया स्मृती गजमेर,
लमही, २२ फागुन ।
बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा आएका नेपाल सहित १३ देशका १ सय ८४ जना कलाकारलाई लमही नगरपालिका र देउखुरी उद्योग वाणिज्य संघ लमहीले भव्य रुपमा स्वागत गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव कार्यक्रममा नेपाल सहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशबाट आएका कलाकारहरुलाई थारु परिकार ढिक्री, खरिया, घोङीले स्वागत स्वागत गरिएको हो ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले १३ वटा देशका कलाकार पाहुनाहरुलाई नगरपालिकामा स्वागत गर्न पाउदा खुशी लागेको बताउनु भयो ।

एउटा कार्यक्रमको संयोग पारेर नेपाल आउनु भएका पाहुनाहरु घरदैलोमा आउनु भयो, हाम्रो स्थानीय थारु समुदायको परिकार स्वाद लिनु भयो, यो नै हाम्रा लागि महत्वपूर्ण हो कुरा हो’– नगर प्रमुख चौधरीले भन्नु भयो । लमही नगरपालिका भित्र रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरेर आफ्नो प्रचारप्रसार गरिदिन आग्रह गर्नु भएको थियो ।

नगरपालिका भित्र सम्भावना बोकेका थुप्रै धार्मिक र पर्यटकीय क्षेत्र छन् समय मिल्छ भने ति क्षेत्रको अवलोकन गर्नुहोला, हाम्रो देशको कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराई दिनुहोला”– नगर प्रमुख चौधरीले भन्नु भयो ।


त्यसैगरी नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले लमही नगरपालिकाले गरेको मिठो आतिथ्यतालाई ग्रहण गरि आफ्नो देशमा राम्रो संदेश फैलाई दिन अनुरोध गर्नु भएको छ ।

देशको कला संस्कृति तथा पर्यटन क्षेत्रलाई चलायमान गराउन कलाकारहरुको ठुलो भूमिका हुने बताउनु भयो । कलाकार कुनै एउटा देशको हुँदैन, उ विश्वको हो त्यस कारण कला र संस्कृतिलाई जगेर्ना गर्नु सरकारको दायित्व हो’– उपप्रमुख योगीले भन्नु भयो ।

आगन्तुक पाहुना कलाकारहरुका लागि स्थानीय थारु परिकारका खाना तयार गरिएको थियो । ढिक्री, खरिया, घोंगी बिदेशी पाहुनाहरुको प्रमुख स्वादमा पर्यो ।

उनिहरुका लागि ढिक्री, खरिया, घोङी नयाँ चिज थियो । विदेशी पाहुनालाई ढिक्री, खरिया, घोंगी परिकारका बारेमा जानकारी गराउनु भएको थियो । ती कलाकारलाई लमही नगरपालिकासम्म ल्याउनका लागि समन्वय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष, चर्चित लोक दोहोरी गायक चन्द्र शर्माले गर्नु भएको थियो ।