सामाजिक सञ्जालमा सक्रिय डा.लम्साल

टेकराज भण्डारी
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा कार्यरत हाडजोनी विशेषज्ञ डा. सन्देश लम्साल सामाजिक सञ्जालमा चर्चित छन् । उनी सन २०१४ देखि विभिन्न सामाजिक सन्जालहरुमा क्रियाशिल रही भेदभाव, लैङ्गिक असमानता, अन्याय तथा असहिष्णुता जस्ता सामाजिक बेथितिहरु विरुद्ध निरन्तर आवाज उठाइरहेका ब्यक्ती हुन् । इन्स्टाग्राम, टिकटक, यूटुब, मोज, जोश, थ्रेड्स लगायतका विभिन्न सामाजिक सञ्जालहरुमा थुप्रै फलोअर्सहरु बटुल्न सफल ब्यक्ती हुन् ।

सामाजिक सन्जाल इन्स्टाग्राममा १ मिलियन बढी फलोअर्स हासिल गर्ने पहिलो नेपाली पुरुष, तथा डाक्टरको उपाधी उनले पाएका छन् । त्यति मात्रै होईन्, उनी खेल क्षेत्रमा पनि सक्रिय ब्यक्ती हुन् । खेल क्षेत्र रुचाउने भएकै कारण खेलाडीहरुलाई समेत उपचार गरेर चर्चा पाएका ब्यक्ती हुन्, उनी ।

फिफा कन्फेडेरेसन कप २०१७ तथा फिफा विश्व कप २०१८ मा मेडिकल स्वयंमसेवकको रुपमा सेवा गरि अन्तराष्ट्रिय जगतमा समेत आफ्नो नाम राखेका छन् । उनले विभिन्न सञ्चार माध्याममा लेखहरु समेत लेख्ने गर्छन् । विभिन्न सामाजिक कल्याणका कार्यक्रमहरूको आयोजना गरी नेपालको सामाजिक क्षेत्रमा क्रियाशील रहि अतुलनिय योगदान पु¥याउँदै आएका छन् ।

उनको जन्म २०५१ भदौ १ गते ढिकपुर गाविस ०९, मछाही दाङ जिल्लामा भएको हो । उनको बाल्यकाल रमाइलो तरिकाले बित्यो । उनी घरको जेठो र एकमात्र छोरा हुन । उनको बुबा कम्प्युटर टेक्निसियन र आमा गृहिणी छन् । तुलसीपुर दाङको तुलसी आवासिय उच्च मावि बाट एसएलसी पास गरे ।


उनले रुस सरकारको क्षात्रवृति हासिल गरी रुसको सेन्ट पिटर्सबर्गको ‘फस्र्ट पभ्लोभ स्टेट मेडिकल युनिभर्सिटी’ मा २०१४ देखि २०२१ सम्म एमडि विषयको अध्ययन गरे । नेपालमा नेपाली र अंग्रेजी माध्यमबाट पढाई गरेको तर रुसमा रुसी भाषामा अध्ययन गर्नुपर्दा निकै कठिनाइिहरु सामना गर्नुपरेको उनले बताए । उनी २०७९ चैतदेखि हालसम्म राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत छन् ।

स्वास्थ्य क्षेत्रमा नमुनायोग्य सेवा गरेवापत कदरस्वरुप वाइसिएल तुलसीपुर नगर कमिटिद्धारा हालसालै सम्मानित भए । खेलकुदमा विषेश रुची भएका उनले विश्व तेक्वान्दो फेडेरेशन, दक्षिण कोरियाबाट सन् २०१४ मा १ दन ब्ल्याक बेल्ट तथा सन् २०१८ मा २ दन ब्ल्याक बेल्ट प्राप्त गरेका छन् ।

सेन्ट पिटर्सबर्ग तथा लेनिनग्राड क्षेत्रमा नेपालको प्रतिनिधिका रुपमा सन् २०१५ देखि २०२१ सम्म नेपाल र नेपाली संस्कृति, भाषा, भेषभूषा तथा पर्यटनको प्रचारप्रसार र प्रवर्धन गरेका छन् ।