पैसा नभएको चेक दिने तुलसीपुरका वली पक्राउ

तुलसीपुर, २२ माघ ।
पैसा नभएको चेक दिने तुलसीपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ नयाँबस्ती निवासी ४५ वर्षका उपेन्द्र बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वलीलाई दाङ जिल्ला अदालतले २०७९ भदौ ६ गते चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय गरेको थियो ।


फैसला पछि लुकिछिपि बस्दै आएका वलीलाई तुलसीपुर–१६ लेटारबाट पक्राउ गरेर सोमबार अदालतमा पेश गरेको प्रहरीले जनाएको छ । भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यसलाई ‘चेक बाउन्स’ वा अनादर भनिन्छ । आफ्नो खातामा रकम नभएको वा पर्याप्त नरहेको जानकारी हुँदाहुँदै कुनै व्यक्तिलाई चेक दिई त्यस्तो चेक भुक्तानीका लागि पेस हुँदा नसाटिएमा चेक अनादर गर्न मिल्ने कानुनी व्यवस्था रहेको छ ।