राप्तीका कृषकहरुलाई लहरेबाली खेती तथा थी.जी. कटिङ प्रविधिसम्बन्धी तालिम प्रदान

देउखुरी, १४ माघ ।
दाङको राप्ती गाउँपालिकाका कृषकहरुलाई लहरेबाली खेती तथा थी.जी. कटिङ प्रविधि सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ।

राप्ती गाउँपालिका दाङको सहयोग तथा राप्ती गाउँपालिका स्तरीय कृषक समन्वय समितिको आयोजनामा आईतवार मसुरीयामा सो तालिम प्रदान गरिएको हो।

कृषक समन्वय समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले किसानहरुले मौसमी खेती गर्दा उत्पादन गरेको बस्तुले उचित मूल्य र बजार नपाउने बताउदै कृषकहरुलाई बेमौसमी खेती तर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।


त्यस्तै उहाँले कृषकहरूले खेतीपाती गर्दा थोरै क्षेत्रफलमा धेरै प्रकारका बाली लगाउनु भन्दा एकै प्रकारको बाली धेरै क्षेत्रफलमा लगाए बिक्रीवितरण गर्न समेत सहज हुने बताउनुभयो ।

पछिल्लो समय उत्पादन वृद्धि गर्ने नाममा विभिन्न बालीमा रासायनिक मल र विषादीको जथाभावी प्रयोग बढेको प्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष चौधरीले यसको असर अन्तत मानिसहरूमा नै हुने भएकाले त्यस तर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो।

गाउँपालिकाका विभिन्न वडाका कृषक समूहका सदस्यहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकहरुमा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख जिवराज पौडेल,कृषि विकास शाखा प्रमुख बरसाती गडरिया र कृषि अधिकृत प्रदिप खत्री रहनु भएको थियो ।