मन्त्री मास्कीद्वारा रेडियो नेपालको अवलोकन

तुलसीपुर,११ माघ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको हेमन्तपुर स्थित रेडियो नेपालको लुम्बिनी प्रादेशिक प्रशारण कार्यालयको अवलोकन गर्नुभएको छ । विहीबार कार्यालयको अवलोकन गर्दै मन्त्री मास्कीले रेडियो नेपाललाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले मुलुक परिबर्तनमा रेडियो नेपालको भूमकिा महत्वपूर्ण रहेको भन्दै यसलाई जोगाउन प्रबिधिमैत्री तथा समय सापेक्ष बनाउन आवश्यक रहेको बताउनुभयो ।“प्रबिधिको विकास नहुँदा रेडियो नेपालले सूचना तथा सञ्चारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण छ”,उहाँले भन्नुभयो“अहिले प्रबिधिको तिब्र विकास भएको छ, अब यसलाई पनि प्रबिधिमैत्री बनाउन आवश्यक छ ।”


जनताको अधिकार स्थापित गर्न रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसको थप विकासमा राज्यले ध्यान दिने उहाँको भनाई छ । त्यस अवसरमा रेडियो नेपालका प्रादेशिक प्रशारण कार्यालयका प्रमुख लक्ष्मणलाल कर्णले अहिले प्रादेशिक प्रशारणले हेमन्तपुरसहित घोराहीको चौपट्टा र रोल्पाबाट प्रशारण भइरहेको बताउनुभयो ।

हेमन्टपुरबाट पाँचसय वाट, चौपट्टाबाट ८ सय र रोल्पाबाट ५ सय वाटबाट प्रशारण भइरहेको भन्दै यसको क्षमता बढाउनु पर्ने बताउनुभयो । साथै जनशक्ति पनि न्यून रहेकाले यसलाई पनि बढाउन तर्फ राज्यले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।